वीरगंज। पर्सागढी नगरपालिका–३ झवराहस्थित इन्दु झवराह जंगल रिसोर्टले वन संरक्षणसँगै पर्यापर्यटन विकासलाई केन्द्रमा राख्दै नयाँ अभियानको सुरुआत गरेको छ। यस अभियानअन्तर्गत सबैया साझेदारी वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ।
रिसोर्ट परिसरमा सम्पन्न कार्यक्रममा सहभागी नव नेतृत्वलाई खादा ओढाएर सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलमलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा वन संरक्षण र पर्यटन विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइयो। रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्टमार्फत प्रकृति, वन्यजन्तु तथा जैविक विविधताको प्रत्यक्ष अनुभव दिलाउने लक्ष्य राखिएको जानकारी दिए।
उनका अनुसार पर्यटक आकर्षण वृद्धि र पर्यटन उद्योगको सुदृढीकरणका लागि आवश्यक पूर्वाधार विकासमा समेत ध्यान दिइएको छ। यसअन्तर्गत साझेदारी वन क्षेत्रदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, निर्माण सम्पन्न हात्तीसार सञ्चालन, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण तथा वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न थप पोखरी निर्माणको आवश्यकता औंल्याइएको छ।
कार्यक्रममा जंगल क्षेत्रमा अनियन्त्रित मानव गतिविधिका कारण वन विनाश बढ्दै गएको उल्लेख गर्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो। रिसोर्टले यस्ता संरचनाको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिन तत्पर रहेको जनाएको छ।
वक्ताहरूले वन संरक्षण, स्थानीय समुदायको सक्रिय सहभागिता र पर्यापर्यटन विकासबीच सन्तुलन कायम गर्न सके पर्सालाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
















