सर्लाही/सर्लाहीको गोडैता नगरपालिका-५ रामवनस्थित आँपको रुखमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ बजे रामनगर गाउँपालिका–६ निवासी बिनोद दासकी १७ वर्षीया छोरी संगिता दास र सोही स्थानका इन्द्रजित दासकी १८ वर्षीया छोरी नागिना दास एउटै रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदम बहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वर प्रसाद यादवको नेतृत्वमा SOCO टोलीसहित १० जनाको अनुसन्धान टोली पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय हरकठवाबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
















