२०८३ जेष्ठ ११ गते, सोमबार ०३:३१

काठमाडौँका पूर्व सिडियो रिहा

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजात र बयान लिइसकेपछि उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा छाडिएको हो।

प्रहरीका अनुसार रिजाललाई उनका आफन्त (भतिज)को जिम्मामा रिहा गरिएको हो। उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले रिजालमाथि पनि कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सुझाव दिएको हो। उक्त कसुरमा अधिकतम तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

यसअघि मन्त्रिपरिषद् बैठकले सुरक्षा निकाय बाहेकका व्यक्तिहरूको हकमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका थिए।

त्यस समयमा जिल्ला सुरक्षा समितिको अध्यक्षको हैसियतमा रहेका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ नगरिने चर्चा चले पनि मंगलबार बिहान अचानक रिजाल पक्राउ परेका थिए। पछि भने आवश्यक प्रक्रिया पूरा गरी उनलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयकै कारण रिहा गरिएको हो वा होइन भन्ने विषयमा भने प्रहरी अधिकारीहरूले थप स्पष्टता दिन बाँकी रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM