२०८३ जेष्ठ ११ गते, सोमबार ०८:५१

भन्सार गेटबाट ९ लाखसहित मोटरसाइकल चालक पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

विहीबार अपराह्न करिब ३:३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको मोटरसाइकल जाँचका क्रममा उक्त रकम बरामद गरेको हो। सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा, वीरगञ्जबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले विशेष सूचनाको आधारमा ना २ प ९५८७ नम्बरको हिरो होन्डा मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–८ गहवा निवासी करिब ४४ वर्षीय अनिल कुमार शाहले सिट कभरमुनि प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ ल्याउँदै गरेको नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकम नेपाली १ हजार दरका ९०० थान नोट रहेको र कुल ९ लाख रुपैयाँ रहेको प्रहरीले पुष्टि गरेको छ। स्रोत नखुलेको उक्त नगदसहित मोटरसाइकल चालक शाहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM