२०८३ जेष्ठ ११ गते, सोमबार १४:०८

१३ चैतमा बालेन सरकार: रास्वपाभित्र मन्त्रालय बाँडफाँडको गृहकार्य तीव्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १३ चैतमा प्रधानमन्त्री नियुक्तिको तयारी गर्दै विभिन्न संवैधानिक निकायहरूमा औपचारिक जानकारी पठाएको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार उक्त प्रक्रिया अघि बढाइसकिएको छ भने त्यसअघि संसदीय दलको नेता चयन गरिने तयारी गरिएको छ।

दरबारमार्गस्थित होटल रोयल सिंगे मा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल बीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमति जुटेको बताइएको छ।

स्रोतका अनुसार सो मन्त्रिपरिषद्मा सभापति लामिछाने पक्षबाट १० र बालेन पक्षबाट ८ जना मन्त्री समावेश गर्ने गरी आन्तरिक समझदारी बनेको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह ले शपथ लिने दिन नै केही मन्त्रीहरूले समेत शपथ लिने तयारी भइरहेको जनाइएको छ।

मन्त्रिपरिषद्को सम्भावित बाँडफाँडअनुसार उपसभापति अर्याललाई गृह मन्त्रालय र वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ। परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल र अमरेशकुमार सिंह बीच प्रतिस्पर्धा देखिएको छ।

त्यस्तै कानुनमन्त्रीमा सोविता गौतम, पर्यटन मन्त्रालयमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदास को नाम चर्चामा छ। शिक्षामन्त्रीका लागि सस्मित पोखरेल को चर्चा चलिरहेको छ भने सञ्चार मन्त्रालयमा जगदीश खरेल र मनिष झा ले इच्छा व्यक्त गरेका छन्।

यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका लागि सुधन गुरुङ तथा स्वास्थ्य मन्त्रालयका लागि तोसिमा कार्की र लेखजंग थापा को नाम चर्चामा रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM