– जलेश्वर सर्राफ
वीरगंज/स्थानीय तहको आगामी निर्वाचन नजिकिंदै गर्दा वीरगंज महानगरपालिकाको आगामी मेयर पदबारे स्थानीय राजनीतिक वृत्तमा नयाँ अनुहारको चर्चा तीव्र बन्दै गएको छ।
पछिल्लो समय युवानेता सुधिर पटेलको नाम वीरगंजवासी माझ विशेष चासो र बहसको विषय बनेको छ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ने.वि.संघबाट राजनीतिक यात्रा सुरु गरेका पटेल अहिले युवापुस्तामाझ लोकप्रियता हासिल गर्न सफल भएका छन्।
२०७९ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका पटेलले करिब पाँच हजार मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए। सीमित स्रोत–साधन, एवं राजनीतिक संगठन बिना प्राप्त उक्त मत परिणामले उनलाई स्थानीय राजनीतिक परिदृश्यमा स्थापित गर्न महत्वपूर्ण आधार दिएको विश्लेषण गरिन्छ। त्यसयता उनी विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
विशेषगरी भदौ २३ गते भएको जेन्जी आन्दोलनमा उनले खेलेको भूमिकाले उनलाई थप चर्चामा ल्याएको थियो। आन्दोलनका क्रममा उनको सक्रिय सहभागिता र नेतृत्व क्षमताले स्थानीय युवामाझ उनको स्वीकार्यता अझै बढाएको देखिन्छ। पछिल्ला दिनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नजिकिँदै गएको र सोही पार्टीबाट मेयर पदका लागि टिकट लिएर चुनावी मैदानमा उत्रने सम्भावना प्रबल रहेको चर्चा चलिरहेको छ।
यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाका चारवटै उम्मेदवारलाई तन, मन र धनले सहयोग गरेको भन्दै उनको राजनीतिक सक्रियता थप प्रष्ट भएको स्थानीयहरू बताउँछन्। हाल उनी रास्वपा भित्रै सक्रिय भूमिकामा देखिएका छन्।
वीरगंजको विकासका सन्दर्भमा लामो समयदेखि दोहोरिँदै आएको पुरानो नेतृत्वप्रति निराशा बढिरहेका बेला नयाँ र युवा नेतृत्वको खोजी भइरहेको सन्दर्भमा पटेलप्रति आम चासो बढ्दै गएको देखिन्छ। स्थानीय स्तरमा घरघरमै उनको नाम चर्चामा आउनु त्यसैको संकेतका रूपमा लिइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै पटेलले आफू वीरगंजमै जन्मेर हुर्किएको र यहीँको माटोसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताए। उनले वीरगंजलाई आफ्नो मातृभूमिका रूपमा लिँदै यहाँको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। बेरोजगारी समस्या समाधान, बन्द रहेका घरेलु उद्योग पुनः सञ्चालन तथा समग्र महानगरलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।















