मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई गैँडाकोट-२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी हुन् ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।”
मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।















