धरान/नयन एडभरटाइजिङ मिडिया प्रा.ली.द्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डटकमले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा दुर्घटनामा परेका धरानका पत्रकार रणध्वज लोहारलाई आर्थिक सहयोग प्रदान गरेको छ। गत असोज २८ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका लोहारले करिब दुई महिनासम्म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आइसियुमा उपचार गराएका थिए। हाल उनी घरमै आराम गर्दै स्वास्थ्य लाभ लिइरहेका छन्। कठिन अवस्थासँग जुध्दै पुनः सक्रिय हुने उनको यात्राले सञ्चारकर्मी समुदायलाई प्रेरित गरेको छ।
प्रा.ली.का अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारीको नेतृत्वमा गएको टोलीले लोहारको धरान–पानबारीस्थित निवासमै पुगेर २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो। टोलीमा नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष विवेक विवश रेग्मी, समाचार संयोजक कृष्ण जुनेली भट्टराई र डेस्क सम्पादक खेमराज सापकोटा सहभागी थिए। अध्यक्ष अधिकारीले वार्षिकोत्सवलाई सञ्चारकर्मीको समस्यामा साथ दिने अवसर बनाउन पाउँदा खुसी लागेको बताउँदै प्रदेश खबर सधैँ पत्रकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
सहयोग प्राप्त गरेपछि भावुक बनेका लोहारले प्रदेश खबरको सहयोगले आफूलाई थप हौसला दिएको बताउँदै छिट्टै पूर्ण स्वास्थ्य लाभ गरेर पुनः पत्रकारितामा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।
यसै अवसरमा प्रदेश खबरले सुनसरीका ३०० भन्दा बढी पत्रकारका लागि करिब ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले सञ्चारकर्मीको सुरक्षा र कल्याणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि पनि प्रदेश खबरले इटहरीका पत्रकार पीबी दियालीलाई क्यान्सर उपचारका लागि सहयोग गरेको थियो।
प्रदेश खबरले हरेक वर्ष नयन मिडिया फाउन्डेसनमार्फत आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’ यस वर्ष पनि निरन्तरता दिने जनाएको छ। कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने उक्त कार्यक्रम आगामी चैत्र ७ गते आयोजना गर्ने तयारी रहेको छ। निर्वाचन आचारसंहिताका कारण कार्यक्रमको मितिपछि सारिएको बताइएको छ।
वार्षिकोत्सवलाई सहकार्य, सहयोग र पत्रकार सुरक्षाको सन्देशसँग जोड्दै प्रदेश खबरले आगामी दिनमा पनि सञ्चारकर्मीको हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।















