२०८३ बैशाख १५ गते, मंगलवार ०४:२६

राष्ट्रिय सहमति बिना निर्वाचन नगर्न राजा ज्ञानेन्द्र शाहको आग्रह

काठमाडौं । ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमति र समझदारीबिना निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार सार्वजनिक गरिएको करिब आठ मिनेट लामो भिडियो सन्देशमार्फत उनले मुलुकका गम्भीर समस्याहरू समाधान नगरी गरिने निर्वाचनले दीर्घकालीन निकास नदिने बताएका हुन्।

पूर्वराजा शाहले आवधिक निर्वाचन लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिमा राष्ट्रिय सहमति पहिलो शर्त हुनुपर्ने जिकिर गरे। “अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन। पहिला सबै पक्षबीच समझदारी कायम गरी राष्ट्रिय समस्या समाधानतर्फ उन्मुख हुनुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्। उनले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सन्दर्भमा सरकारलाई परोक्ष रूपमा पुनर्विचार गर्न आग्रहसमेत गरेका छन्।

उनले मुलुक अहिले अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको दाबी गर्दै देशको अस्तित्व र अस्मितामाथि संकटको अनुभूति आम नेपालीले गरिरहेको टिप्पणी गरे। विगतका आन्दोलन र परिवर्तनहरूको परिणामप्रति आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले संघर्षको आडमा गरिएका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने प्रश्न उठाएका छन्।

“हाम्रो वास्तविक शत्रु विपन्नता र अस्थिरता हो,” भन्दै उनले एक नेपालीलाई अर्को नेपालीको प्रतिद्वन्द्वीका रूपमा हेर्ने राजनीतिक संस्कृतिले राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोप लगाए। आलोपालो भागबन्डाको मानसिकता त्यागेर सहकार्य र सहमतिका आधारमा अघि बढ्न सके मात्रै मुलुकले नयाँ गति लिन सक्ने उनको धारणा छ।

पूर्वराजा शाहले निर्वाचनप्रति कुनै प्रकारको द्वन्द्व वा अशान्ति उत्पन्न नहोस् भन्ने उद्देश्यले पनि व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे। “पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याहरूको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् भन्ने आम जनभावना देखिन्छ,” उनले भनेका छन्।

उनको सन्देश सार्वजनिक भएसँगै मुलुकको समसामयिक राजनीतिक बहसमा नयाँ आयाम थपिएको छ। आगामी निर्वाचन र राष्ट्रिय सहमतिबारेको बहस अब थप तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM