काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्ने बिशेष अदालतको आदेशले पूर्व संचार मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल राहत मिलेको छ । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन् ।
बिशेष अदालतको आदेशमा उल्लेख छ–‘आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, २०८० को नियम ५९ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणका विषय विज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषय विज्ञ प्राध्यापक र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका विषय विज्ञ सदस्य रहेको विषय विज्ञ समूह गठन गरिदिएको छु ।’
टेरामक्स प्रबिधि खरिदमा ५० हजार अमेरिकी डलर मूल्यको ल्यापटपसमेत किनिएको छ । एउटा ल्यापटप ५० हजार डलरमा खरिद गरिएको बिषयले पनि टेरामक्स प्रबिधि खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अनियमितताको आशंकासहित मुद्दा दायर गरेको थियो ।
बिशेष अदालतको आदेशले टेरामक्स खरिदमा मुख्य जिम्मेवार पूर्व सचार मन्त्री मोहन बस्नेतलाई दोषी ठहर गर्ने चर्चा चले पनि विज्ञ टोली गठन भएपछि उनलाई तत्काल राहत मिलेको छ ।















