काठमाडौँ । काठमाडौँ जिल्लाको स्थानीय उद्योग, व्यापार, कला-संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (NICCI) र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा पहिलो पटक बृहत रूपमा “काठमाडौँ महोत्सव २०८२ एवं काठमाडौँ व्यापारिक मेला (Kathmandu Business Expo 2025)” आयोजना हुने भएको छ। महोत्सव आगामी २०८२ माघ १४ गतेदेखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य काठमाडौँ जिल्लाभित्र रहेका औद्योगिक तथा व्यावसायिक सम्भावनाहरूको अधिकतम उपयोग, उत्पादकत्व वृद्धि, बजार प्रवर्द्धन तथा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु रहेको छ। महोत्सव अन्तर्गत सञ्चालन हुने “रैथाने खाना महोत्सव”को सम्पूर्ण सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी जिल्ला होटल व्यवसायी संघ काठमाडौँले लिएको छ। संघका अध्यक्ष सुरेश बरालले जानकारी दिएअनुसार रैथाने खाना महोत्सवमा जम्मा आठ वटा खानाका स्टलहरू रहनेछन्, जसमा लिम्बु नेवारी, चौधरी, सेर्पा लगायत विभिन्न जातजातिका मौलिक तथा परम्परागत परिकारहरू उपलब्ध हुनेछन्। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
महोत्सवको उद्घाटन सत्र माघ १४ गते बिहान ९ः३० बजे आयोजना गरिनेछ। उद्घाटनको अवसरमा बसन्तपुर दरबार क्षेत्रबाट रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म भव्य र्याली निकालिनेछ, जसमा विभिन्न झाँकी, नाचगान, सांस्कृतिक प्रस्तुति तथा संघ-संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
समग्र महोत्सवमा करिब दुई सय वटा स्टलहरू रहनेछन्। कार्यक्रमलाई थप आकर्षक बनाउन झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम, काठमाडौँको कला प्रदर्शनी, कन्सर्ट, प्रसिद्ध कलाकारहरूको प्रस्तुति, रैथाने खानेकुराको प्रतियोगिता तथा हेल्थ क्याम्पलगायतका गतिविधिहरू समावेश गरिनेछ। मेलामा भारतीय तथा बङ्गलादेशी उत्पादनहरू पनि रहनेछन् भने नेपाली राष्ट्रिय कलाकारद्वारा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ। साथै, नेवारी कुमारि र चरिया नाच, लिम्बु जातिको च्याप्रुङ नाच धान नाच र शेर्पा जातिको स्याब्रु नाचमार्फत विविध सांस्कृतिक झलक प्रस्तुत गरिनेछ।
महोत्सवमा करिब एक लाख दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा सर्वसाधारण, व्यापारी, उद्यमी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहनेछ। आयोजकका अनुसार महोत्सवले लघु, साना तथा घरेलु उद्योगी तथा महिला उद्यमीहरूको समावेशिता सुनिश्चित गर्दै स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। महोत्सव बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ र मेलामा प्रवेश निःशुल्क रहने छ।















