वीरगञ्ज/ वीरगञ्जलगायतका क्षेत्रमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर आपत्ति जनाएको छ।
महासंघ पर्साद्वारा जारी विज्ञप्तिअनुसार आज भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साह प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले मोबाइल खोस्नुका साथै उनीमाथि आक्रमण गरेका थिए। उक्त घटनालाई महासंघले प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको ठहर गरेको छ।
महासंघले पत्रकारमाथि हुने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको सूचनाको अधिकारविरुद्ध रहेको उल्लेख गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। समाचार संकलन गर्नु पत्रकारको संवैधानिक अधिकार र दायित्व भएको महासंघको भनाइ छ।
विज्ञप्तिमा धार्मिक समुदायहरूले आयोजना गर्ने प्रदर्शन तथा गतिविधिको समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमहरूले संयमता र जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि जोड दिइएको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जात, जाति, धर्म, समुदाय, भाषा तथा संस्कृतिबीच सामाजिक सद्भाव कायम हुने गरी समाचार सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुपर्ने व्यवस्था रहेको महासंघले स्मरण गराएको छ।
कतिपय सञ्चारमाध्यमबाट आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भएको पाइएको उल्लेख गर्दै त्यसले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले महासंघले निगरानी बढाएको जनाएको छ।
प्रेस स्वतन्त्रताको सम्मान गर्दै सुरक्षित र भयमुक्त वातावरणमा समाचार संकलन गर्न सक्ने अवस्था निर्माण गर्न सम्बन्धित सबै पक्षलाई महासंघले आग्रह गरेको छ।














