काठमाडौँ । काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा बैठक बस्न लागेको हो ।
पार्टीभित्र विशेष महाधिवेशन विवाद र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भनेर निर्णय गरेपछि काँग्रेसभित्र विवाद चर्किएको छ ।
महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनु विधानको बाध्यता रहेको भन्दै पुस २७(२९ का लागि भृकुटीमण्डपको हल बुक गरिसकेका छन् ।
विशेष महाधिवेशनलाई सिंगो काँग्रेसको स्वामित्व लिने गरी कार्यवाहक सभापति खड्कालाई औपचारिक रूपमा बोलाउन महामन्त्री शर्माले शनिबार भेटेरै आग्रह गरेका थिए । पार्टी केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएर नीतिगत निर्णय गर्ने र पार्टी एक भएको सन्देश लिएर निर्वाचनमा जाने प्रस्ताव महामन्त्रीले शर्माले गरेका छन् ।
यता माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा संविधान जारी गर्ने सबै राजनीतिक दलहरूबीच भागबण्डा गरेर जाने विषयमा समेत अनौपचारिक छलफल भइरहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच अनौपचारिक संवाद भइरहेका छन् ।

















