वीरगंज । वीरगंजको घण्टाघरस्थित वि.पि. उद्यानबाट आज युथ सर्व फाउन्डेसनको आयोजनामा एथलेटिक्स कार्यक्रम सम्पन्न भएको छ। युवा सहभागिता र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको समन्वय दिपु वर्णवालले गर्नुभएको थियो। खेलको उद्घाटन साना नानीबाबुहरूलाई अगाडि दौडाएर गरिएको थियो, जसले खेलप्रति बालबालिकाको आकर्षण र सहभागितालाई संकेत गरेको थियो।

एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलको निर्देशनमा सञ्चालन गरिएको दौड प्रतियोगिता घण्टाघरबाट पावरहाउस चौकसम्म टोकन बुझ्ने प्रक्रियासहित अघि बढेको थियो। त्यसपछि खेलाडीहरू प्रतिमा चौक, ब्रह्मचौक र बसपार्क हुँदै पुनः घण्टाघरस्थित वि.पि. उद्यानमा आइ कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागी खेलाडीहरूमा उत्साह देखिएको थियो भने आयोजक संस्थाले आगामी दिनमा यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
















