वीरगंज/लागूऔषध कारोबारविरुद्ध चलाइएको विशेष अपरेसनका क्रममा प्रहरीले खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा शुक्रवार दिउँसो करिब २ बजे वीगंज-१५ स्थित प्रतिमा चोक नजिकको सडकखण्डमा प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्युरो, वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले शरीर तलासी लिने क्रममा वीरगंज महानगरपालिका–१९ बिन्दवासिनी निवासी अन्दाजी ३० वर्षीय शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीमा कागजले बेरिएको लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ प्लाष्टिकसहित ४५ ग्राम फेला पारेको जनाएको छ।
बरामद लागूऔषधसहित पक्राउ पर्नेहरूमा वीरगंज-१९ बिन्दवासिनी निवासी अन्दाजी ३० वर्षीय शम्भु राउत कम्कर,
वीरगंज-१६ निवासी अन्दाजी १९ वर्षीय चन्दन कुमार पण्डित,
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-१ निवासी अन्दाजी ४० वर्षीय राज किशोर मिश्र, तथा भारत बिहार राज्य, मोतिहारी जिल्ला, छटौनी थाना वडा नं. ६ निवासी अन्दाजी २७ वर्षीय सचिन सिंह रहेका छन्।
पक्राउ परेका चारै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















