काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने कपिलवस्तुको शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका-३२ कै भोजपुरको षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा तथा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने भक्तपुरको चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साइरज सुवेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्र प्रकाश अधिकारीले अल्बानिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ लिएको, बबिता विश्वकर्माले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ असुल गरेको तथा साइरज सुवेदीले अमेरिका पठाइदिन्छु भनी तीन जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवित्र अधिकारी र बबिता विश्वकर्मालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरज सुवेदीलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
















