भैरहवा । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बहस सम्पन्न भएको छ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार उक्त मुद्दामा बहस सम्पन्न भएको हो। यसअघि गत मंसिर २५ गते ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि पेशी स्थगित भएको थियो भने त्यसअघिका केही पेशी प्रतिवादी पक्षका कानुन व्यवसायीको निवेदनमा स्थगित भएका थिए।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बहस सकिएपछि हाल मिसिल अध्ययन भइरहेको छ। ‘इजलासमा बहस सकिएको छ, अहिले मिसिल अध्ययन भइरहेको छ,’ कुँवरले भने, ‘आदेश केही समयभित्र आउनेछ।’
अदालतले एउटै प्रकृतिको मुद्दा भएकाले रवि लामिछाने र छविलाल जोशीको मुद्दा एकैसाथ राखेर सुनुवाइ गर्न यसअघि नै आदेश दिएको थियो। उनीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ।
लामिछानेले चार भागमध्ये आफ्नो भाग बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत दाखिला गर्दै थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीले भागमा कति बिगो पर्ने भन्ने यकिन नभएको भन्दै रिहा गर्न अस्वीकार गरेको थियो। छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरे पनि दुवैको हकमा समान प्रकृतिको आदेश जारी गरिएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन परेपछि अदालतले दुवै मुद्दा एकैसाथ राखेर सुनुवाइ गरेको हो।
हाल रवि लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा छन्।

















