मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरी टोलीले उद्धार गरेको छ।
सोमबार साँझ छबेलीकी रजना स्याङ्तान करिब ५० मिटर तल खसेर खोल्सामा अड्किएपछि प्रहरी परिचालन गरिएको हो।
उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन्। केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीले जोखिमपूर्ण स्थानबाट सावधानीपूर्वक उद्धार गरी रजनालाई भीमफेदी स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पुर्याएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई हेटौडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार उनको बाहिरी चोट नदेखिए पनि ढाडमा केही भित्री चोट लागेको प्रारम्भिक अनुमान छ। हाल अवस्था सामान्य रहेको र उपचारमा उनका पिता संलग्न रहेको बताइएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब १ किलोमिटर पूर्वतर्फ र पीडितको घरबाट करिब २०० मिटर दूरीमा रहेको प्रहरीले जनाएको छ।
















