२०८३ बैशाख १७ गते, बिहीबार ०२:५८

प्रहरीको संरक्षणमा माछा तस्करी, नेपाली माछापालक मारमा

वीरगंज/भारतसँगको खुला सीमा, भन्सार छली, र स्वास्थ्य जोखिमयुक्त माछाको अनियन्त्रित तस्करीका कारण नेपालमा माछा उत्पादनमा आत्मनिर्भर हुँदै गरेको स्थानीय व्यवसाय नै गम्भीर सङ्कटमा परेको छ । भारतीय माछा सस्तो दरमा नेपाल भित्रनु मात्र समस्याको मूल कारण होइन-अनुदानप्राप्त भारतीय उत्पादन, भन्सार छलीको असुरक्षित मार्ग, र विषाक्त रसायन फर्मालिन प्रयोग गरी नेपालमा बेचबिखन भइरहेको माछाले नेपाली उपभोक्ता र व्यावसायी दुवै जोखिममा छन् ।

तस्करीमै निर्भर भइसकेको भारतीय माछा बाजार

पर्साको सबैठवा नाकाबाट हप्तामा १०–१२ पिकअप माछा तस्करी गरी नेपाल भित्रिने गरेको स्थानीय स्रोतहरू बताउँछन् । न त भन्सार प्रक्रिया, न त क्वारेन्टाइन-सीमामै ‘लाइन’ मिलाई ल्याइने यी माछा न्यून मूल्यका कारण बजारमा सजिलै खपत हुन्छन् ।

भारतमा दाना, औजारदेखि सम्पूर्ण माछापालन उत्पादनमा राज्य सरकारले अनुदान उपलब्ध गराउने भएकाले त्यहाँको मूल्य नेपालभन्दा निकै कम पर्छ । यही मूल्य अन्तर र भन्सार छलीको अवैध गतिविधिले नेपाली उत्पादन प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ।

फर्मालिन प्रयोग: जनस्वास्थ्यमा ठूलो खतरा

विशेषगरी भारतको आन्ध्र प्रदेशबाट नेपाल आउने माछा ३–५ दिनको लामो यात्रापछि मात्र सीमा नाकामा पुग्छ । लामो दूरी र तापक्रमका कारण माछा कुहिने सम्भावना उच्च रहने भएकाले व्यापारीहरू फर्मालिन प्रयोग गर्ने गरेको चिकित्सकहरूले पुष्टि गर्दै आएका छन् ।

फर्मालिनयुक्त माछा नियमित रूपमा सेवन गर्दा क्यान्सर, अंगहरूमा क्षति, दीर्घ स्वास्थ्य समस्या उत्पन्न हुने विशेषज्ञहरूको चेतावनी छ ।

नेपाल प्रवेश गरेपछि पनि व्यापारीहरूले माछा ताजा देखाउन फर्मालिन थप प्रयोग गर्ने गरेको छ, जुन उपभोक्ताका लागि झनै खतरनाक बन्छ।

सीमामा सुरक्षा एजेन्सीहरूको संलग्नता?

स्रोतहरूले प्रस्तावित सीमा सुरक्षा गुल्म, लहौरथाकरीका डीएसपी लोकनाथ उप्रेतीले माछा तस्करीका समूहलाई संरक्षण दिएको आरोप लगाएका छन् ।

यस्तै, बाराका केही नाकामा सियाराम कुशवाहा समूहले माछा तस्करीमा सक्रिय रहेको र जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रहरी निरीक्षक खेम नेपालको सहजीकरणमा तस्करी निर्बाध रूपमा चल्ने गरेको आरोप स्थानीय व्यापारीहरूले लगाएका छन्।

अघिल्ला घटना, अझै दोहोरिने जोखिम

माछा तस्करीको ‘केन्द्र’को रूपमा चिनिएको बीरगञ्ज क्षेत्र विगतमा नेपाली सुरक्षा निकायकै सेटिङमा करोडौँको भारतीय माछा तस्करी भएको आरोपमा विवादित रहँदै आएको छ ।

कुख्यात विपिन साह तुरहा समूहले सञ्चालन गरेको तस्करीमार्फत आएको अत्यधिक फर्मालिनयुक्त माछा झापासम्म पुर्याइने गर्थ्यो । केही महिनाअघि सशस्त्र प्रहरीले त्यस्तै माछाको ठूलो परिमाण बरामद गरी खाल्डो खनेर नष्ट गरेको थियो।

नेपाली माछा उद्योग धरासायी, उपभोक्ता जोखिममा

नेपालमा वर्षेनि माछा उत्पादनमा वृद्धि हुँदै आएको छ । व्यवसायीहरू आत्मनिर्भरता नजिक पुगेको दाबी गर्छन् । तर अत्यधिक मात्रामा भन्सार छली गरी भित्रिने भारतीय माछाका कारण नेपाली उत्पादन बजारमै माग घट्दै गएको छ ।

मूल्यमा गरेको प्रतिस्पर्धा, अनुदानप्राप्त भारतीय उत्पादन, र गुणस्तरहीन रसायनयुक्त माछाको सहज पहुँच-यी सबैले गर्दा नेपाली माछा उद्योग नै धरासायी हुने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM