२०८३ बैशाख १७ गते, बिहीबार ०७:०३

सशस्त्र प्रहरीको संरक्षणमा भिस्वा नाकाबाट तस्करीको लाइन

वीरगंज/ भारतसँग सीमा जोडिएको वीरगंजपछिको दोस्रो ठूलो र सुरक्षित नाकाको रुपमा रहेको पर्साको छिपहरमाई-भिस्वा नाका तस्करहरूकालागि खुल्ला गरिएको पाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सा अन्तर्गत रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भिस्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकराज उप्रेतीले गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट एवं सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्न मस्ता बहिनीका बाहिनी पति समेतको नाममा कुख्यात तस्करहरू किशोर जायसवाल, मुन्ना जायसवाल र रामु जायसवाललाई तस्करीको लाइन दिइएको स्रोतले जनएको छ।

पर्सा जिल्लाको सदरमुकाम वीरगंजदेखि पश्चिममा रहेको सो नाका प्रायः जायसवाल ब्रदर्स र वीरगंजका कोस्मेटिक किङ्ग गोपाल खेतानका लागि खोलिने गरिन्छ।

भारतीय सीमा सुरक्षा बल एसएसबी समेतको सहमतिमा खोलिने गरिएको सो नाकाबाट दैनिक २०-२५ ट्र्याक्टर चिनियाँ स्याउ, लसुन, नासपाती, ओखर र मगज (खिराको बीउ) तथा नेपाल लिभरबाट उत्पादित श्याम्पू, पेस्ट, तेल लगायतका कस्मेटिक सामानहरू भारत पठाइने गरिएको छ।
तेस्रो मुलुकबाट आयात गरिएको स्याउ, लसुन, ओखर, नासपाती, चाइनीज भेप (इलेक्ट्रीक चुरोट), रामगढवास्थित जायसवालको गोदाममा भण्डारण गरी त्यहाँबाट पिकअप, ट्र्याक्टर, र मिनी ट्रकमा लोड गरी भिस्वा लगिने र मौका हेरेर कहिले पिकअप भ्यान र कहिले भरियामार्फत भारत छिराउने गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
भिस्वा जस्तो सानो बजारमा आर.एस. कृष्णा स्टोर्सको नाममा करोडौंको बिल काटेर जायसवाल ब्रदर्सले तस्करी धन्दा गरी राष्ट्रिय राजस्वमाथि ब्रह्मलुट मच्चाएका छन्।

यसैबीच शुक्रबार राती ११ वटा पिकअप भ्यानमा जायसवाल समूहको तस्करीको सामान भारततर्फ पठाईएको छ।

जेनजी सहादतको बलमा स्थापित कार्की सरकारलाई चुनौती दिँदै सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी बल नै तस्करको संरक्षण बनेको देख्दा ईमानदार व्यवसायीहरू चकित छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM