काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दिपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा जिल्ला होटल व्यवसायी संघ काठमाडौंले शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अध्यक्ष सुरेश बरालका अनुसार उक्त कार्यक्रम यही कात्तिक २ गते (आइतबार) साँझ प्रेसिडेन्ट सेकुवा, महाराजगंजमा हुने छ। कार्यक्रममा विभिन्न संघ–संस्था, होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित निकायहरूबीच आपसी आत्मीयता, भाइचारा र समन्वय सुदृढ पार्ने उद्देश्य रहेको बताइएको छ।
बरालका अनुसार, “संस्कार, संस्कृति र परम्परागत उत्सवहरूको जगेर्ना गर्नु हाम्रो सामूहिक दायित्व हो। यसै सन्दर्भमा होटल व्यवसायी समुदायबीचको सहकार्य र एकता अभिवृद्धि गर्न देउसी-भैलो तथा सांस्कृतिक प्रस्तुति कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रममा होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश, साथै जिल्ला होटल व्यवसायी संघ काठमाडौंसँग आबद्ध सबै एकाइका प्रतिनिधिहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
सांस्कृतिक कार्यक्रमका क्रममा चर्चित कलाकारहरूबाट देउसी–भैलो, नाच-गान तथा मनोरञ्जनात्मक प्रस्तुति समेत रहने संघले जनाएको छ।

















