काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ लिएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका सोनलले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनीसँगै कनिश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
बुधबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी रहेको छ ।

















