काठमाडौं । अध्यागमन प्रणालीमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न गृह मन्त्रालयले महत्वपूर्ण कदम चालेको छ। हालै लोकसेवा आयोगबाट उत्तीर्ण ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाइएको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार ती अधिकृतहरूलाई तीन दिने आधारभूत तालिम दिइएपछि आजदेखि कार्यक्षेत्रमा खटाइएको हो। “नयाँ अधिकृतहरूले अध्यागमनको संवेदनशील जिम्मेवारी बहन गर्न थालेका छन्,” रिजालले बताए।
साथै, विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखका रूपमा सहसचिव नरहरि घिमिरेले कार्यभार सम्हालेका छन्। उनले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्।
यस कदमसँगै गृह मन्त्रालयले मन्त्रालयमै दरबन्दी मिलानको आधारमा शाखा अधिकृतहरूको अदल–बदल पनि सुरु गरेको छ। प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीका अनुसार मन्त्रालयमा आवश्यकभन्दा बढी अधिकृत भएमा तिनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र सरुवा गरिने छ।
अध्यागमन सुधारको यो प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। समितिलाई अध्यागमन प्रणाली र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन सुधार योजनासहित नीति तथा कानुनी सुझाव दिन कार्यादेश दिइएको छ।
समिति हाल कार्यादेश अनुसार काम गरिरहेको छ र अध्यागमन प्रणालीमा आमूल सुधारको अपेक्षा गरिएको छ।
















