संखुवासभा, ३ साउन ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले संखुवासभा जिल्लामा निर्माण सम्पन्न भएका दुई वटा महत्वपूर्ण पुलको शुक्रबार उद्घाटन गर्नुभएको छ। दुई दिने गृहजिल्ला भ्रमणमा रहनुभएका मन्त्री खड्काले यावारा खोला र माया खोलामा निर्माण सम्पन्न भएका पुल उद्घाटन गर्दै दुवै पूर्वाधारले जिल्लाको यातायात सञ्जाललाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
६० मिटर लामो यावारा खोला पुल उद्घाटन
चैनपुर नगरपालिका र मादी गाउँपालिकालाई जोड्ने ६० मिटर लामो यावारा खोला पुल २०७३ सालमा निर्माण सुरु भई २०८९ पुस १२ गते सम्पन्न भएको हो। झण्डै ५ करोड ८७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको यस पुलले दुई पालिकाबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा मन्त्री खड्काले लामो समयदेखि स्थानियबासीको माग रहेको पुल सम्पन्न हुनु खुसीको विषय भएको बताउँदै भन्नुभयो, “यो पुल मेरो चुनावी प्रतिबद्धतामध्ये एक हो, जनताको मतको सम्मान गर्दै बोलेको काम गरेरै देखाउने विश्वास दिलाउन चाहन्छु।”
माया खोला पुलको पनि उद्घाटन
त्यस्तै, धर्मादेवी नगरपालिका र मादी गाउँपालिकालाई जोड्ने अर्को महत्वपूर्ण पूर्वाधार माया खोला पुल पनि शुक्रबार मन्त्री खड्काले उद्घाटन गर्नुभयो। पाँच करोड भन्दा बढी लागतमा निर्माण सम्पन्न भएको यस पुललाई पनि मन्त्रीले जिल्लाको यातायात तथा आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो।
“संखुवासभा चक्रपथ” अन्तर्गतका संरचना
दुबै पुल भारत र चीन जोडिने सडक सञ्जालसँग सम्बद्ध भएको बताउँदै मन्त्री खड्काले पूर्वी नेपालका लागि ‘संखुवासभा चक्रपथ’ को अवधारणा अनुरूप पूर्वाधार विकास भइरहेका जानकारी दिनुभयो। उहाँले जिल्लाको सामरिक, भौगोलिक र विकासीय महत्वलाई दृष्टिगत गरी सडक तथा पुल निर्माण तीव्र पारिएको उल्लेख गर्नुभयो।
सिंचाई तथा जलस्रोत आयोजनाको उद्घाटन तथा प्रशासनसँग छलफल
मन्त्री खड्काले चैनपुरमा स्थापना गरिएको सिंचाई तथा जलस्रोत व्यवस्थापन कार्यालयको शनिबार बिहान मात्रै उद्घाटन गर्नुभएको थियो। त्यस्तै, उहाँले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग भेट गरी प्रशासनिक कार्यशैलीमा पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वका मान्यतालाई पालना गर्न निर्देशन दिनुभयो।
राजनीतिक अन्तरक्रिया पनि सम्पन्न
जिल्ला भ्रमणको क्रममा मन्त्री खड्काले जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल गर्नुभएको थियो। सहकार्य, सहमति र साझा दृष्टिकोणका माध्यमबाट जिल्लाको समग्र विकासमा सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
















