काठमाडौं, १ साउन।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी रूपमा काम गरेर प्रत्यक्ष परिणाम देखाउने बेला आएको स्पष्ट सन्देश दिनुभएको छ।
विद्युत विकास विभागको ३२औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि मन्त्री खड्काले भन्नुभयो, “हामीले भाषण धेरै गर्यौं, अब साँच्चिकै परिणाम देखिने काम गर्नुपर्ने समय आएको छ। नीति र नियमका कारण काम रोकिएको छ भने तिनमा आवश्यक संशोधन गरेर भए पनि अघि बढ्नुपर्छ। ऊर्जा अब केवल उज्यालो मात्र होइन, मुलुकको समृद्धिसँग प्रत्यक्षरूपमा गाँसिएको विषय हो।”
मुलुकभरका हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको स्पष्ट लक्ष्य रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “ऊर्जाको आवश्यकता रोकिने विषय होइन। ढिलाइ गर्नु हुँदैन, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढ्नुपर्छ।”

साझेदारी, समृद्धि र सम्भावनाको युग
मन्त्री खड्काले समृद्धिको आधार ऊर्जा र यसको सदुपयोग रहेको स्पष्ट गर्दै भन्नुभयो, “हामीसँग भएका स्रोतहरूको प्रभावकारी उपयोग गर्न सकेमा ऊर्जा क्षेत्र नै व्यापार र समृद्धिको मूल आधार बन्न सक्छ।” उहाँले वर्तमान युगलाई कृत्रिम बौद्धिकता (AI) को युगको रूपमा व्याख्या गर्दै त्यसका लागि पर्याप्त ऊर्जा पूर्वाधार अपरिहार्य भएको उल्लेख गर्नुभयो।
उहाँले जलविद्युत् विकासमा अवरोधका रूपमा रहेका जमिन प्राप्ति, प्रशारण लाइन विस्तार तथा संरचनागत अड्चन हटाउन नीतिगत सुधारको संकेत पनि दिनुभयो। उहाँको भनाइ थियो, “सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्र स्थायीत्व र दीर्घकालीन समाधान सम्भव छ।”
योगदानप्रति सम्मान, समर्पणको अपेक्षा
सोही अवसरमा मन्त्री खड्काले ४३२ मेगावाट जलविद्युत् र ३५ मेगावाट सौर्य ऊर्जाको उत्पादनमार्फत योगदान पुर्याउने निकायप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको जिम्मेवारी होइन, यो सबैको साझा दायित्व हो।” उहाँले “समस्या भए पहिचान गरौं, अप्ठ्यारा छन् भने समाधान गरौं – अब समय गुमाउने होइन, सम्भावनालाई काममा बदल्ने हो” भन्ने प्रेरणादायी सन्देश पनि दिनुभयो।
विमोचन, सम्मान र सहभागिता
कार्यक्रम विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि मन्त्री खड्काले ‘विद्युत प्रवर्द्धन स्मारिका–२०८२’ विमोचन गर्नुभएको थियो। समारोहमा पूर्व सचिव मधु प्रसाद भेटवाल, उपमहानिर्देशक अरुण कुमार झा र सरिता प्रधानलाई सम्मान गरिएको थियो।

त्यस्तै, आ.व. २०८१/०८२ मा निर्माण सम्पन्न भएका २० वटा विद्युत आयोजनाका प्रवर्द्धकहरूलाई सम्मान गरिएको थियो।

समारोहमा ऊर्जा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य तथा सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगका सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, विभागीय प्रमुखहरू, सल्लाहकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
















