काठमाडौं – अङ्ग्रेजी भाषामा टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेकी नेपालकै सर्बाधिक सानो उमेरकी कार्यक्रम सञ्चालिका अनुरिका गिरी ‘युवा प्रतिभा पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएकी छिन्।
राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रिय नागरिक विकास समाजले पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो। एचडी टेलिभिजनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समाजका प्रतिष्ठित व्यक्तित्व तथा विदेशी कूटनीतिज्ञहरूसँग अन्तरक्रिया गर्दै आएकी अनुरिकालाई टेलिभिजनमा सानो उमेरमै प्रभावशाली प्रस्तुति दिन सफल भएकोमा यो सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्री रामनाथ अधिकारीले अनुरिकासहित विभिन्न क्षेत्रका १२ जना विशिष्ट व्यक्तित्वलाई सम्मान पत्र र दोसल्ला अर्पण गर्नुभयो। मन्त्री अधिकारीले सम्मान समारोहमा बोल्दै कृषिप्रधान मुलुक नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यका लागि कृषि मन्त्रालय निरन्तर क्रियाशील रहेको बताउनुभयो।
राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित कार्यक्रममा पर्यटन, शिक्षा, उद्यमशीलता, पत्रकारिता र कला लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो।

















