काठमाडौं/घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
सामाजिक संजाल फेसबुकमा आज आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै आफूले मन्त्री पदबाट राजिनामा दिएको बताएका छन्। उनले आफ्नो राजीनामा पत्रमा भनेका छन्, “बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ।”
गुप्ताले लेखेका छन् कि, “कहिले काहि नखाएको विष पनि लाग्दो रहेछ र म अहिले त्यसैको शिकार भएँ।” उनले आरोपहरूको अनुसन्धान गरी सत्य र तथ्यलाई उजागर गर्ने उद्देश्यले सम्माननीय प्रधान मन्त्री समक्ष आफ्नो राजिनामा बुझाएको बताए।
उक्त पत्रमा गुप्ताले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। उनले भने, “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन भन्ने अपेक्षा गर्दछु।”
गुप्ताले जनताप्रति थप जिम्मेवारी बोध गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने, “अब फेरि एकपटक देश र जनता प्रति जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु र जनताको घर दैलोमा आउने प्रण गर्दछु।”
उनको राजीनामासँगै राजनीतिक विश्लेषकहरू यसलाई नेपालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ मोडको रूपमा हेरिरहेका छन्, जहाँ प्रबिधिका माध्यमबाट भएको प्रचार र आरोपको असर स्पष्ट देखिएको छ।
















