काठमाडौँ, २९ असार/
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरेपछि असन्तुष्ट समूहले उक्त निर्णयविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गराएको छ।
उजुरी दर्ता गर्न शनिबार निर्वाचन आयोग पुगेको टोलीमा सुवेदीसहित वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगायत सहभागी थिए। आयोगमा दर्ता गरिएको निवेदनमा पार्टी अध्यक्षले विधानविपरीत एकल निर्णय गर्दै पदाधिकारीहरूलाई कार्यकाल नसकिँदै हटाएको र नयाँ नियुक्ति गरिएको उल्लेख छ।
सुवेदीले आयोग समक्ष दिएको निवेदनमा आफूलाई जानकारी नै नदिई हटाइएको भन्दै निर्णय बदर गरी पुनः पदमा बहाली गरिनुपर्ने माग गरिएको छ। “अन्यायविरुद्ध आवाज उठाउनु परेको हो, पार्टी फुटोस् भन्ने चाहना छैन,” सुवेदीले भने। उनले आफूविरुद्ध पार्टीभित्र षड्यन्त्र भैरहेको दाबीसमेत गरे।
यता, वरिष्ठ नेता डा. लोहनीले विधानविपरीतका कुनै पनि निर्णय मान्य नहुने स्पष्ट पारे। “हामी पार्टीलाई अझ एकताबद्ध बनाउन चाहन्छौं। राजसंस्थाको पुनस्र्थापनाको आन्दोलनलाई निष्कर्षमा पुर्याउने लक्ष्यमा छौं,” उनले भने।
पदबाट हटाइएका प्रवक्ता लावतीले अध्यक्षको निर्णय एकपक्षीय र अनुचित भएको आरोप लगाए। “पार्टी विधानको उल्लंघन गरेर गरिएका निर्णयहरू अस्वीकार्य छन्,” उनले भने।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले उजुरी प्राप्त भएको पुष्टि गर्दै भनिन्, “निवेदनको अध्ययनपछि आवश्यक निर्णय लिइनेछ।”
राप्रपा अध्यक्ष लिङ्देनले असार २५ गते बसेको कार्यसम्पादन समितिको बैठकबाट सुवेदीलाई पदमुक्त गर्दै रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका थिए। यद्यपि, उक्त निर्णयलाई असन्तुष्ट समूहले अस्वीकार गर्दै पार्टीको आन्तरिक संरचना र विधि नियम पालना गर्नुपर्ने माग गर्दै आएका छन्।
राप्रपाभित्रको यो विवादले पार्टीको आन्तरिक स्थायित्वमा प्रश्न उठाइरहेको छ भने आगामी राजनीतिक योजना र रणनीतिमा असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।
















