काठमाडौं, २५ असार/
‘भिजिट भिसा’ दुरुपयोगको विषयमा गम्भीर ढंगले छानबिन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन्। सरकारद्वारा गठन गरिएको सामान्य प्रशासनिक समिति उनीहरूको अपेक्षा विपरीत रहेको दाबी गर्दै दुबै दलले असन्तुष्टि प्रकट गरेका हुन्।
बैठक सुरु हुनासाथ रास्वपाकी सांसद सोविता गौतमले वक्तव्य दिँदै, भिजिट भिसासम्बन्धी प्रकरणमा गम्भीरता नअपनाइएको आरोप लगाइन्। उनले सरकारलाई लक्षित गर्दै भनिन्, “नागरिक बेचबिखनजस्तो संवेदनशील विषयमा सरोकारवालाहरूको हित प्रतिविम्बित नहुने, कनिष्ठ तहका कर्मचारीहरू सम्मिलित समिति बनाइँदैछ। यसरी झेली शैलीमा काम गरेर समस्या समाधान हुँदैन।” गौतमका अनुसार उच्चस्तरीय छानबिन आयोग वा संसदीय समिति गठन नभएसम्म रास्वपाले बैठक बहिष्कार जारी राख्नेछ।
यता, राप्रपाकी सांसद अनिशा नेपालीले समेत गौतमकै भनाइलाई समर्थन जनाउँदै सरकारको निर्णयलाई ‘टालटुल’ शैलीको कदम भनेकी छिन्। उनले भनिन्, “हामीले मागेको उच्चस्तरीय समिति हो, सामान्य प्रशासनिक समिति हैन। यस्तो गम्भीर विषयमा औपचारिकता मात्र पूरा गरेर टराउन खोज्नु आपत्तिजनक छ।” नेपालीले हालै देशभर देखिएका प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति समवेदना प्रकट गर्दै पीडितलाई तत्काल राहत र पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।
दुबै दलका तर्फबाट धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू सदनबाट बाहिरिएका थिए।
यसबीच, नेकपा (एमाले) की सांसद सुनिता बरालले भने प्रधानमन्त्रीको हालैको स्पेन भ्रमणलाई लिएर रास्वपाले उठाएको प्रश्नप्रति आपत्ति जनाउँदै त्यसमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाइन्।
स्मरण रहोस्, रास्वपा र राप्रपा दुबैले ‘भिजिट भिसा’ दुरुपयोग प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन आवश्यक रहेको भन्दै निरन्तर दबाब दिँदै आएका छन्। सरकारद्वारा गठित सामान्य समिति पर्याप्त नठहरिँदै उनीहरूले विगत केही दिनदेखि संसद् बैठक बहिष्कार गरिरहेका छन्।
















