काठमाडौं, २३असार/
प्रतिनिधि सभाको आजको बैठकमा संघीय सांसद एकनाथ ढकालले नेपालले अझै बाँकी ११ राष्ट्रसँग पनि औपचारिक कूटनीतिक सम्बन्ध विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सभामुखमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद ढकालले नेपालको कूटनीतिक इतिहास र वर्तमान अवस्थालाई स्मरण गरे। “नेपालले संयुक्त अधिराज्यसँग सन् १८१६ मा सुगौली सन्धि मार्फत पहिलो पटक औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको हो,” उनले भने, “हालसम्म नेपालले अधिराज्य टोंगा सहित १८२ राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गरिसकेको छ, बाँकी रहेका ११ राष्ट्रसँग पनि सम्बन्ध स्थापित गरेर संयुक्त राष्ट्र संघका सबै १९३ सदस्य राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध पुऱ्याउनुपर्छ।”
सांसद ढकालले परराष्ट्र मन्त्रालयलाई थप प्रभावकारी र सक्रिय कूटनीतिक कदम चाल्न आग्रह गरे। साथै, उनले हाल कार्यरत ३० कूटनीतिक नियोग र ४९ मानार्थ वाणिज्य दूतहरूको भूमिकामाथि समेत प्रश्न उठाए।
“कति मानार्थ वाणिज्य दूतहरू सक्रिय छन्, कति निष्क्रिय छन् ? उनीहरूले नेपाल र त्यहाँ रहेका नेपालीको हितका लागि के गरेका छन् ?” सांसद ढकालले सोधे। कार्यशैली सन्तोषजनक नभएका र निष्क्रिय मानार्थ वाणिज्य दूतहरूको पुनरावलोकन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। साथै, नेपालको हित र आर्थिक कूटनीतिलाई अघि बढाउन सक्ने सक्षम व्यक्तिहरूमध्येबाट नयाँ मानार्थ वाणिज्य दूत नियुक्त गर्नुपर्ने सुझाव पनि दिए।
बैठकमा उनले नेपालको दीर्घकालीन परराष्ट्र नीतिलाई अझ मजबुत बनाउन र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन थप गहिरो कूटनीतिक सक्रियता अपरिहार्य रहेको धारणा राखे।
















