२०८२ आश्विन २६ गते, आईतवार ०१:५६

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौँ, १४ जेठ/
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच शिष्टाचार भेट भएको छ।

मन्त्रालयमा मैत्रीपूर्ण वातावरणमा सम्पन्न उक्त शिष्टाचार भेटमा द्विपक्षीय ऊर्जा सहकार्यका विविध पक्षबारे छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ। भेटको क्रममा विशेष गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत सञ्चालित आयोजनाहरूको प्रगति र आगामी कार्ययोजनाबारे गम्भीरतापूर्वक विचार-विमर्श गरिएको बताइएको छ।

मन्त्री खड्काले एमसीसीअन्तर्गत हालसम्म भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै केही समययता उत्पन्न प्राविधिक ढिलाइबारे राजदूतलाई जानकारी गराउनुभएको थियो। उहाँले आयोजनाहरूलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा अमेरिकी सहयोग अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो।

 राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकी समर्थन निरन्तर रहँदै आएको र आगामी दिनहरूमा पनि सहकार्यलाई थप सशक्त बनाउने इच्छा व्यक्त गर्नुभयो। एमसीसी परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सहकार्य र समन्वयमा अमेरिकी पक्ष प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

एमसीसी परियोजनाअन्तर्गत विभिन्न उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेशन निर्माण हुँदैछ, जसले नेपालमा विद्युत् प्रसारण प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। अमेरिकी सरकारबाट पाँच सय मिलियन अमेरिकी डलर र नेपाल सरकारबाट १९७ मिलियन अमेरिकी डलरको लगानीमा परियोजना अघि बढिरहेको छ।

भेटमा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगै एमसीसी तथा एमसीएका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM