काठमाडौँ, ९ वैशाख
भारतका विद्युत तथा आवास र शहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुईदिने आधिकारिक भ्रमणका लागि मंगलबार बिहान काठमाडौँ आइपुग्नुभएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर नेपाल आउनुभएको हो।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
नेपाल बसाइको पहिलो दिन मन्त्री खट्टरले भारतको सहयोगमा संखुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उहाँ काठमाडौँ फर्केर आज साँझ लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। उक्त प्रसारण लाइन दुई देशको संयुक्त लगानीमा निर्माण गरिनेछ।
भोलि (बुधबार) मन्त्री खट्टरले मुस्ताङस्थित मुक्तिनाथको अवलोकन भ्रमण गर्नुहुनेछ। त्यहाँबाट फर्किएपछि उहाँले पशुपतिनाथको दर्शन गर्ने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय गरिएको छ।
मन्त्री खट्टर भोलि साँझ नै भारत फर्कने कार्यक्रम रहेको छ।

















