बाँके । नक्कली लालपुर्जा बनाएर नक्कली जग्गाधनी बनेर बैङ्कमा धितो राखेर १ करोड २० लाख रुपैयाँ ऋण निकाली ठगी गरेको आरोपमा जिल्ला अदालत बाँकेले तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । लिखित ठगी तथा सङ्गठित अपराध मुद्दामा पक्राउ परेका प्रतिवादीमध्ये थप ६ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत बाँकेका श्रेस्तेदार गोविन्द आचार्यका अनुसार बारास्थित जितपुर नगरपालिका–३ का ३५ वर्षीय दिलीपकुमार सिंह, अछामका ४७ वर्षीय टङ्कप्रसाद उपाध्याय र बाराको कलैया नगरपालिकाका २६ वर्षीय फिरोज आलमलाई पुर्पक्षमा राख्ने आदेश दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका(१ की ४५ वर्षीया ईश्वरी माया रोक्कालाई ५० लाख र उनका छोरा २२ वर्षीय गौरव कार्कीलाई ३५ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । त्यसैगरी बाँकेको कोहलपुर घर भएर बाँकेकै मुक्तिनाथ बैंकका शाखा प्रबन्धक अशोककुमार कोइरालासँग ३ लाख, कोहलपुर घर भई सोही बैङ्कको ऋण शाखामा कार्यरत कर्मचारी राजन थापा क्षेत्रीबाट ३ लाख, बाँकेको डुडुवा गाउँपालिका घर भई सोही बैङ्कमा कार्यरत अर्का कर्मचारी सञ्जय यादवसँग पनि ३ लाख रुपैयाँ धरौटी माग गरिएको आचार्यले बताउनु भयो ।
सोही घटनामा मालपोत कार्यालय बाँकेमा लेखनदासको काम गर्ने श्रीधरा वलीलाई १ लाख २५ हजार रुपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत बाँकेले आदेश दिएको छ।
अदालतले आदेश दिएकै दिन दिलीपकुमार सिंह, टङ्कप्रसाद उपाध्याय र फिरोज आलम पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। बाँके प्रहरीका अनुसार धरौटीमा रिहा गर्न आदेश भए पनि ईश्वरी र उनका छोरा गौरवले धरौटी बुझाउन नसकेपछि थुनामै पठाइएको छ ।
उनीहरू सबै मिलेर बाँकेको डुडुवा गाउँपालिका–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाई बैङ्कमा पेस गरी एक करोड २० लाख रुपैयाँ निकालेर ठगी गरेका थिए । सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको थियो ।
गार्मेन्ट व्यवसायी फिरोजको नाममा २०८० जेठ ३० गते मालपोत कार्यालयले जमिन धितो रहेको बैङ्कको नाममा धितो बन्धक पास भएको प्रमाण दिएको थियो। ती सबै कागजात फर्जी रूपमा तयार पारिएका थिए । सोही जग्गाको फर्जी कागज पेस गरी फिरोजले बैङ्कको केन्द्रीय कार्यालय काठमाडौँबाट एक करोड २० लाख रुपैयाँ झिकेका थिए।
त्यो बेला उनलाई सो जग्गाको वास्तविकता थाहै थिएन। यही साल असारमा उनले बैङ्कबाट फेरि ऋण लिन खोज्दा मालपोत कार्यालयले जमिनको विवरण खोज्यो । तब उनको नाममा जग्गा नै फेला परेन। त्यसपछि बल्ल फिरोजले ठगिएको चाल पाए । सात महिनाअघि, बाँके प्रहरीले फिरोजलाई खोजेर घटना अनुसन्धान अघि बढायो। त्यतिखेर जिल्ला प्रहरी बाँकेले फिरोजलाई हाजिरी जमानीमा छोडेको थियो।

















