२०८२ माघ ९ गते, शुक्रबार ११:१३

‘हामी मैलोधैलो भयौं, सच्चिन जनताकोमा गएका हौं’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला जागरण अभियानमा छ । गत १२ फागुनदेखि नै अभियान थालेको यो पार्टी राजावादीहरुको प्रदर्शनपछि २४ फागुनमा एक्कासि कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएको थियो ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल अब धुलो टक्टक्याउँदै अघि बढ्नुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने निष्कर्षका साथ पार्टी नेतृत्वले जनतासँग साक्षात्कार गर्ने र आफ्ना गल्ती-कमजोरी आत्मसात गर्ने बताउँछिन् । अघिल्लो चरणको अभियान सकारात्मक भएको उनको दाबी छ । तराई/मधेशमा माओवादी केन्द्रको खस्किँदो जनाधार, पार्टीले सुरु गरेको जागरण अभियान, राजावादीको बढ्दो सक्रियता र पार्टीभित्रको आन्तरिक लोकतन्त्र लगायत विषयमा केन्द्रित रहेर माओवादी केन्द्रकी उपाध्यक्ष भुसालसँग अनलाइनखबरका सुदर्शन खतिवडाले गरेको कुराकानी:

तराई/मधेशमा माओवादी जनाधार त्यति उत्साहप्रद देखिँदैन । तैपनि, तपाईंहरूले अभियान त्यतै केन्द्रित गरिरहनुभएको छ, किन ?

२०६४ सालमा तराई/मधेशतिर हाम्रो जनाधार एकदमै राम्रो थियो । झापादेखि कञ्चनपुरसम्म परिणाम पनि राम्रो आयो । तर क्रमशः जनाधार घट्दै गयो । यस्तो दुई कारणले भयो- एउटा, पार्टीमा टुटफुट भयो । अर्को, गठबन्धनबाट चुनाव लडियो, कहिले कांग्रेससँग त कहिले एमालेसँग मिलेर । उम्मेदवार नै नभएपछि हामीलाई मत दिने कुरा भएन । हामीले समीक्षा गरेको तेस्रो कारण- माओवादी जनताबाट अलि टाढा भयो भन्ने हो । त्यसैले जनतामा जाने निर्णय गर्‍यौं ।

जनसंख्याको ठूलो घनत्व तराईमा छ । राष्ट्रियता र राष्ट्रको हिसाबले पनि बडो रणनीतिक महत्व राख्ने भूभाग । यस्तो ठाउँमा हिजोको माओवादी जनाधार आज किन रहेन भन्ने कुरालाई आत्मसात गरेर जनतामा जाने नीति लिएका हौं ।

तपाईंले आत्मसात भन्नुभयो । केके गल्ती गर्नुभएछ, के भन्दै हुनुहुन्छ जनतालाई ?

पछिल्लो समयमा हामी जनतासँग अलि कट्यौं । सबै क्षेत्रमा हाम्रो उम्मेदवार नहुँदा पार्टी त्यहाँसम्म पुग्ने कुरा पनि कम भयो । पटक-पटक सरकारमा गयौँ, कहिले सरकारको नेतृत्व गरेर त कहिले सहयात्री भएर । अनि सरकार सञ्चालन गर्दा इलाइट क्लासलाई प्राथमिकता दिएजस्तो भयो । कहीं न कहीं बिचौलियाको घेराबन्दी पनि भयो । सरकार बसेर जनतातिर फर्कने कुरा कम गर्‍यौं । यसरी हामी मैलोधैलो भयौं । अब धुलो टक्टकाएर अघि बढ्नुपर्छ, रुपान्तरण हुनुपर्छ भन्नेमा पुगेका छौँ । पहिला त आफूले गरेका गल्ती-कमजोरी जनतालाई भन्नुपर्छ । अनि मात्र जनताबाट माया र समर्थन खोज्ने कुरा हुन्छ । अब रुपान्तरणलाई मुख्य अजेन्डा बनाएर जनतामा जाँदैछौं ।

हामी मैलिएका थियौं । अब सफा भएर आएका छौं भन्दा जनताले पत्याउने अवस्था छ ?

जनताबाट असाध्यै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । जनताको हामीप्रतिको आकर्षण, भरोसा र विश्वास बढेको देखिन्छ । हामी जनताकैमा बस्छौं । जनताकैमा खान्छौं । उहाँहरु जहाँ बस्नुहुन्छ, जस्तोमा सुत्नुहुन्छ हामीले त्यसै गरेका छौं । यसरी जनतासँगको एकाकारले हामीलाई बदलेको छ ।

राजनीतिक दलका यस्ता अभियान केही शुभचिन्तक र कार्यकर्तासम्म मात्रै पुग्ने, भुइँ तहका जनतासँग संवाद नहुने परम्परा थियो । त्यस्तै भइरहेको छ कि ?

हामीले त्यस्तो परम्परा तोडेका छौं । हामी शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गको परिवार, पूर्वजनमुक्ति सेना र पूर्व पूर्णकालीन कार्यकर्ता, पहिले हामीलाई संरक्षण र माया गर्ने जनता र मजदूर, किसान, अझ मधेशका दलित, आदिवासी, मधेशी, मुस्लिम जस्ता समुदायसँग संवाद गरेका छौँ । अघिपछि जस्तै मान्छे जम्मा गर्ने, मञ्चमा उक्लिएर भाषण गर्ने र हिँड्नेमा सीमित छैन हाम्रो अभियान।

हामी प्रत्यक्ष जनतासँग साक्षात्कारमा छौँ । उहाँहरुका कुरा सुनिरहेका छौँ । माओवादी केही बिग्रियो, केही धुलोमैलो लाग्यो । अब हामी हाम्रो वर्ग, समुदायमा फर्कने संकल्प गरेका छौं । हामीले गरेको गल्तीलाई जनताले माफ गर्नुहुन्छ भन्ने विश्वास छ । जस्तो, बच्चाका निम्ति बाबु-आमाको जे भूमिका हुन्छ नि, गल्ती नै गरे पनि, तोडफोड गरे पनि, बिगारे पनि आफ्ना सन्तानप्रति जसरी मातृत्व, बात्सल्य प्रकट गर्नुहुन्छ, त्यस्तै ढंगको युवा, विद्यार्थी, विभिन्न पेसा र समुदायको पार्टीप्रति आकर्षण छ ।

तपाईंले सजिलोसँग भन्नुभयो । तर पटकपटक धोका पाएका मानिसले अलि बढी शंका गर्छन् भनिन्छ । जनताले यति सजिलै तपाईंहरूलाई विश्वास गरे त ?

कतिपयले भन्छन्, तपाईंहरू माफी माग्ने भनेर । हामीबाट जहाँनेर कमजोरी भएको छ, त्यो कुरा जनतासँग भन्छौं । ढाँट्ने, छल्ने, गल्ती-कमजोरी ढाकछोप गर्ने गर्दैनौँ । जनता हाम्रो लागि आदर्श हुन् । निर्णायक हुन् । अभिभावक हुन् । उनीहरु इतिहासका निर्माता हुन् र हाम्रो पार्टीका आधार पनि हुन् । उनीहरूलाई नभने कसलाई भन्ने ?

हाम्रो अभियान तल्लो वर्ग र समुदायमा केन्द्रित छ । त्यसैले सबैले सकारात्मक रुपमा लिएका छन् । किनभने, यहाँ (काठमाडौं) बसेर देखेको भन्दा फरक छ । एकदिन बिहानदेखि बेलुकासम्म हाम्रो अभियानमा हिंड्नुहोस् । त्यहाँ तपाईंले एउटा फरक अनुभूति गर्नुहुनेछ । हाम्रै शब्दमा भनेर, अलिकति फेसबुकमा हालेर, अलिकति सामाजिक सञ्जालमा भन्ने गरिएको भन्दा त्यहाँको अवस्था फरक छ ।

जुनसुकै पार्टीले जितेको पालिका होस्, हामी जाँदा उहाँहरू स्वागत, सम्मान गर्न र आफ्ना समस्या राख्न आउने गर्नुभएको छ । नजिकका वडा, पालिकाका प्रमुखले समेत आफ्ना आवश्यकता बताउने, समस्या राख्ने र भरोसा दिलाउने काम गर्नुभएको छ । पार्टी प्रवेशको पनि ठूलो लहर छ । माओवादीमा प्रवेश गर्नेमा सबैभन्दा बढी त वामपन्थी नै हुने भए । एउटा लामो राजनीतिक पृष्ठभूमि र संस्कार भएका डेमोक्रेटहरू समेत हजारौँको संख्यामा हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ।

पार्टी प्रवेशको त रोचक सवाल छ । दोस्रो संविधानसभाअघि पेरिसडाँडादेखि कोटेश्वरसम्म पार्टी प्रवेश गर्नेहरूको लाइन हुन्थ्यो । तर मतमा त्यो देखिएन । माओवादी तेस्रो पार्टी बन्यो । अहिले पनि यस्तै हो कि ?

अहिले हामी मत माग्न गएका छैनौं ।

तर, मतकै आशा त होला नि ?

हो, प्रतिस्पर्धाको राजनीतिमा जान्छौं । तर जुन कमिटीबाट आउनुभएको हो, त्यही कमिटीमा संगठित गर्ने गरी सचेत मान्छेको तप्का हाम्रो पार्टीमा आएको छ । पहिलेजस्तो भिड वा मास आएको होइन, हरेकले आफ्नो स्तरका कमिटी छोडेर यता आइरहेका छन् । यो सकारात्मक छ । यसले हामीलाई पनि उत्साहित गरिरहेको छ र, जनतामा पनि माओवादी सकिएको छैन भन्ने नयाँ विश्वास पैदा भएको छ ।

सजिलै रुपान्तरणको कुरा गर्नुभयो । १०-२० वर्षअघि काठमाडौं प्रवेश गरेकाभन्दा माओवादी नेतृत्वमा वर्ग उत्थान भएको छ । यहाँबाट फेरि सच्चिने गरी कुनै नीतिगत निर्णय गर्नुभएको छ कि ? कुनै कमिटी बनाउनुभएको छ कि ?

हाम्रो आफ्नो अनुशासन आयोग छ । लेखा आयोग छ । ती आयोग स्वतन्त्र र स्वायत्त छन् ।

ती त पहिला पनि थिए नि ?

होइन, थिएनन् । अनुशासन आयोग बनाएको एक दुई वर्ष मात्रै भएको छ । गत बैठकमा अलि बढी वर्ग उत्थान भएको कुरा उठेकोले सबैलाई सम्पत्ति विवरण बुझाऊ भनेको छ । हुन त पार्टीको एउटा तहको नेतृत्वले २०५२ सालबाटै सम्पत्ति विवरण बुझाइरहेका छौं । पहिले र अहिलेको तुलना गरे पनि हुन्छ । कसैको बढेको होला, कसैको घटेको होला । कसरी घट्यो, कसरी बढ्यो ? यस्ता कुरा हेर्छौं ।

विवरणमा धेरै नै सम्पत्ति भेटियो भने के गर्नुहुन्छ ?

छानबिन गर्छौं । कारबाही गर्छौं ।

यो तपाईंको सार्वजनिक प्रतिबद्धता हो ?

एकदम हो ।

तपाईंहरू जागरण चाहियो भनेर जनतामा गइरहनुभएको छ । अब त दलभित्र, नेतृत्वभित्र पनि आन्तरिक लोकतन्त्रको लागि एक प्रकारको जागरण ल्याउनुपर्ने बेला भएन र ?

छ । हामीले एक वर्ष अगाडि पहिलोचोटी विधान सम्मेलन गर्‍यौं । अब एक वर्षभित्र महाधिवेशन गर्दैछौं । यद्यपि, जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक पद्धतिबाट पार्टी संगठन चलाउँदा भए सहमति, नभए बहुमत-अल्पमत गरेर निर्णय टुङ्ग्याउने कुरा हुन्थ्यो नीतिमा पनि, नेतृत्वमा पनि । हरेक इस्युमा यस्तो थियो । तर अहिले चुनाव-चुनाव भन्ने कुरा अलि बढी उठ्यो । चुनाव त कुनै एजेन्डा होइन । केको निम्ति चुनाव, कुन वर्ग र विचारको निम्ति, कुन कार्यदिशाको निम्ति, कुन विचार र कार्यदिशा लिएको नेतृत्वप्रति भन्ने हुन्थ्यो । त्यो त छैन । अहिलेसम्म पनि हामीले हाम्रा प्रस्तावहरू एकमतले पास गरिरहेका छौं । अहिले पनि केन्द्रीय समितिको बैठकमा हामीले एकमतले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्‍यौं । यद्यपि, हाम्रा सुझाव, राय र आलोचना समेटेर तयार पारिएको छ ।

भिडिओ:

कहिलेकाँही एकमतले निर्णय हुनु राम्रो कुरा हो । तर कतै एकमत पैदा भएको पार्टीभित्र फरक मत राख्नेप्रति नेतृत्व असहिष्णु हुने अथवा दशकौंदेखि एउटै नेतृत्व हुँदा नेतृत्वमा प्राधिकारको अत्यधिक केन्द्रीकरण हुने भइरहेको होला । आम गुनासो के छ भने, एउटा राजा त फाल्यौं तर दलभित्रका हरेक नेताहरू नयाँ राजा अर्थात् दलपतिको रूपमा पैदा भए । विकल्प खोज्न दोस्रो पुस्ता तयार नै छैन । उनीहरूले पनि त्यो नैतिकता गुमाइसके !

त्यो होला । तर हामी कम्युनिष्ट पार्टी हौँ । हाम्रोमा जसको विचार उसको नेतृत्व भन्ने हुन्छ । अरु पूँजीवादी पार्टीभित्र विचारको बहसै गर्नुपरेन । त्यही भएर संगठनको मात्रै कुरा हुन्छ । अनि महाधिवेशन, सम्मेलन भनेका कमिटी चयन गर्ने, मतदानबाट टुङ्ग्याउने जस्तो हुन्छ । तर हाम्रोमा हामी विचार र कार्यदिशामा पनि बहस गर्छौं । हामी सशस्त्र जनविद्रोहबाट यहाँ आइपुग्यौं । त्यसपछि संविधान लेखनदेखि कार्यान्वयन हुँदै अब समाजवादमा जाने हाम्रो कार्यदिशा छ ।

हाम्रो संविधानमा लेखेको संविधानको आधार मात्रै होइन, कम्युनिष्ट पार्टीको आफ्नो कार्यदिशा पनि भएकोले समाजवादको आधार तयार पारेर समाजवादमा जाने भनेर हामीले गएको आठौं महाधिवेशनमा कार्यदिशा पनि पास गर्‍यौं । हामीले त्यसका निम्ति विचारको विकास पनि गर्नुछ, कार्यदिशाको परिमार्जन पनि गर्नुछ । अनि हामीले एक्काइसौं शताब्दीमा नेपाली मौलिकताको समाजवाद भनेका छौं ।

अब त्यसलाई मूर्तरुप दिन महाधिवेशन गर्ने भनेका हौँ । पार्टी नेतृत्वको हिसाबले अध्यक्ष कमरेडले त्यो प्रस्ताव ल्याउनुहुन्छ । त्यो ल्याइसकेपछि त्यसमा विमति भएर कसैले फरक मत ल्यायो भने एउटा ढंगको हुने भयो । अन्यथा प्रस्ताव उहाँले ल्याएपछि कार्यान्वयनमा जान्छ । हामी सहज ढंगले आएको पार्टी होइन । भूमिगत, सशस्त्र संघर्ष लगायतबाट …।

तपाईंले सशस्त्र संघर्ष सम्झाउनुभयो । युद्धकालमा आन्तरिक लोकतन्त्रको सन्दर्भमा २१औं शताब्दीको जनवाद नामको प्रस्ताव ल्याउनुभएको थियो । त्यसमा नेतृत्व, पार्टी, सरकार र सेनाबारे नयाँ प्रस्तावहरू थिए । तर प्रचण्ड ३५ वर्षमा नेतृत्व लिएको नेता अर्को ३५ वर्ष अझै पार्टी सत्तामा हुनुहुन्छ ?

तर, कार्यदिशा र त्यसको कार्यान्वयनमा अध्यक्ष सफल हुनुभएको छ । एउटा सफल नेता हुँदाहुँदै अर्को कसले गएर चलाउने त ? हामीले भनेको २१औं शताब्दीको जनवादबारे प्रस्तावमा पार्टी र सत्ताको कुरा बढी हो र युद्धकालमा भएको हुनाले सेनाको पनि । आलोपालोको सिद्धान्त अपनाउनुपर्छ, सधैं एउटा सत्तामा गइराख्ने र अर्को चाहिं पार्टीमा मात्रै गर्नुहुँदैन भन्नेछ । त्यो आलोपालोको एउटा सन्दर्भ चाहिं सरकार सञ्चालन गर्दा प्रधानमन्त्रीमा तीन पटक प्रचण्ड जानुभयो र एकपटक माओवादीबाटै बाबुरामजी जानुभयो । त्यसपछि मन्त्रीमा जाने चाहिं आलोपालो छ ।

हामीले यो महाधिवेशनसम्म पुग्दा थप विचारको विकास गर्नेभन्दा समग्रतामै विचारको विकास पनि गर्छौं । किनकि, यहाँसम्म हामी जसरी आएका छौं, त्यो केवल मार्क्सवाद, लेनिनवाद, माओवाद मात्रै होइन । नेपाली मौलिकतामा सिर्जनशील ढंगले त्यसको कार्यान्वयन गर्दै एक प्रकारले नयाँ जनवादी क्रान्ति हामीले पूरा गरेका हौँ । अब समाजवादी क्रान्तिमा जाने बेला थप विचारको विकास गर्नुपर्नेछ । कम्युनिष्ट पार्टी चल्ने विचारले हो ।

विचारको प्रश्नमा आउँला । तपाईंले अध्यक्ष प्रचण्ड सफल भन्नुभयो । तर एउटा नेता सफल हुने, पार्टी चाहिं मरिच चाउरिए जस्तो चाउरिने अवस्था छ । संविधान पनि सम्झौता नै गरेर बनाउनुभयो । यसरी नेता सफल, पार्टी असफल हुने अवस्था बन्यो नि ?

होइन, पार्टीको पछिल्लो अवस्थाको हामीले समीक्षा गर्‍यौं नि त । त्यसो भएर पार्टी साँघुरो हुँदा हामीबाट कमजोरी भयो भन्ने कुराको समीक्षा गर्‍यौं । कमजोरीको मुख्य जिम्मा त मुख्य नेतृत्वकै हो । उपलब्धिको पनि जिम्मा लिने कुरा हुन्छ, समस्याको पनि प्रमुख जिम्मेवार मूल नेतृत्व नै हुन्छ । त्यसैले अहिले रुपान्तरणको कुरा बाँकीका लागि हो, अध्यक्षका लागि होइन भन्ने होइन । त्यसैले त अहिले अध्यक्ष जनताको घरदैलोसम्म पुगिरहनुभएको छ नि ! यो हाम्रो रुपान्तरणको प्रक्रिया हो । यो अरुको टाउको दुःखाइभन्दा हाम्रो आवश्यकताको कुरा हो यो ।

मार्क्सवादीहरूले सचेत प्रयत्नको कुरा गर्छन् । अध्यक्ष प्रचण्ड र माओवादी केन्द्र हामी बिग्रियौं, सच्चिनुपर्छ भनेर सचेत प्रयत्न गरेर जनताकोमा जानुभएको हो कि सत्ताबाट बाहिरिनुपरेपछि ?

मान्छेले जसो पनि भन्छन् । हामी द्वन्द्ववादी हौं । भएका र नभएका दुवै कुराको हामी समीक्षा गर्छौं । पार्टी भनेको पनि विपरीतहरूको एकत्व हो भनेर हामी मान्छौं । त्यसैले हामी सचेत ढंगले गएको हो । अब हामी तीन/साढे तीन वर्ष पूरै जनतामा जाने हो र आफ्नो पार्टीलाई बलियो बनाउने, आफ्नो वर्ग र समुदायमा केन्द्रित हुने र आफूलाई रुपान्तरण गर्ने हो । पार्टी सानो भएकोमा कसैलाई दोष दिएका छैनौं । यो पार्टीको आन्तरिक कारण हो यो । त्यसैले रुपान्तरणको कुरा गरेका हौं ।

जनतामा जाने कुराको लामै पृष्ठभूमि छ । अध्यक्ष प्रचण्ड लाजिम्पाटतिर बस्दा पनि उहाँले जनतामा जाने भन्नुहुन्थ्यो । तर रुपान्तरण भएर देखाउन पार्टीले सकेन । यसपटक कसरी विश्वास दिलाउनुहुन्छ ?

हामी जनताको प्रतिक्रियाबाट उत्साहित छौं ।

अहिले युद्धको बेला दुःख पाएका नेता/कार्यकर्ता, शहीद-बेपत्ता परिवार, घाइते अपाङ्गहरूको मनोभाव कस्तो पाउनुभयो ?

माओवादी एकताबद्ध भएको हेर्ने उहाँहरूको चाहना छ । हामीले शहीदले देखेको सपनाको बाटोमा हिंड्ने संकल्प गरेका छौं । उहाँहरूले माया, सद्भाव, विश्वास र आफ्ना भावना राख्नुभएको छ । सकारात्मक हुनुहुन्छ ।

शहीद परिवारकै आँगनमा टेकेर काठमाडौँ फर्किनुभएको छ र फेरि त्यतै फर्कने कुरा रहेछ । यहीबीचमा राजावादीहरूले प्रदर्शन गरे । त्यो प्रदर्शनले गणतन्त्रवादीको टेक्ने धरातल हल्लाइदिएजस्तो देखियो । राजावादीको सानोतिनो प्रदर्शनबाटै डराउनुपर्ने कति कमजोर गणतन्त्र ल्याउनुभएको रहेछ तपाईंहरूले ?

गणातन्त्र किन कमजोर ? कसैको हुकुम प्रमाङ्गीबाट हामीले संविधान लेखेको पनि होइन । परिवर्तन भएको पनि होइन । दशौं हजार जनताका छोराछोरीको त्याग, तपस्या र बलिदानको जगबाट ल्याएको गणतन्त्र हो । आम जनताको सहभागिताबाट, दुई/दुई चोटि संविधानसभाको निर्वाचन भएर जनप्रतिनिधि निकायले लेखेको संविधान हो । हो, यो सम्झौताको संविधान पनि हो । किनकि, संविधान हामीले मात्रै लेखेर लेखिंदैनथ्यो । कैयौं कुरामा सम्झौता गर्‍यौं, कैयौं कुरा नोट अफ डिसेन्टमा राख्यौं र नेपालमा एउटा युग परिवर्तनको संविधान त ल्यायौं नि ।

समाजवाद, साम्यवाद संविधानबाटै खोजेर त पाउने होइन । साढे दुई सय वर्षको सामन्तवाद, निरंकुशतन्त्र, वंशवाद, परिवारमा आधारित सामन्ती व्यवस्था अन्त्य गर्‍यौं र जनताको सबैभन्दा उत्पीडित वर्ग र समुदायको राज्यसत्तामा प्रतिनिधित्व र नेतृत्वलाई सुनिश्चित गर्दै अनि जनताप्रति उत्तरदायी र इतिहासमा पहिलोचोटि जनता सार्वभौम गराउने कुरा हामीले सम्पन्न गर्‍यौं । यो सानो कुरा होइन ।

राजनीतिक परिवर्तनको सापेक्षतामा आर्थिक, सामाजिक विकासको कुरा गर्नुपर्थ्यो, खासगरी आर्थिक समृद्धि र विकासको कुरा । त्यो पनि सामाजिक न्यायमा आधारित । भने जति सकिएको छैन । भएकै छैन भन्ने होइन । लामो समय सामन्तवादले नेतृत्व गरेको र अहिले १७/१८ वर्ष गणतन्त्र आएयताको विकास हेर्नुभयो भने भौतिक संरचनाको कुरा, जनशक्ति र मानवीय शक्ति विकासको कुरामा गुणात्मक हिसाबले अगाडि छौं । तर योभन्दा बढी आवश्यक छ ।

वृद्धि र विकास फरक कुरा होला । विकास त सापेक्ष कुरा होला । हामीले संसारसँग पदचाप मिलाउन सकिरहेका छौं कि छैन भन्ने होला । सँगै, आन्दोलनको बेला तपाईंहरूले नागरिकलाई रुमानी सपना देखाइदिनुभयो नि ?

गणतन्त्र-लोकतन्त्र आउनु चानचुने कुरा हो ? महिला, दलित, जनजाति, आदिवासी, मधेशी, मुस्लिम जस्ता उत्पीडनमा परेका समुदायको राज्यका निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा, समावेशी समानुपातिकको कुरा त्यो सामान्य हो ?

तर, त्यसको सापेक्षतामा हामीले आर्थिक विकास, सानै भए पनि औद्योगिकीकरण, कृषिको उत्पादकत्व, पर्यटन हाम्रो निम्ति एउटा बहुआयामिक र बाह्रै महिना चल्ने हाम्रा विशेषता छन् । जलस्रोतमा हामी सम्पन्न छौं । त्यसको विकास त यसबीचमा राम्रो भएको छ । जुन ढंगले गर्नुपर्ने हो त्यो पुगेन ।

म तपाईंलाई केही कुरा सम्झाउँछु । संघीयता ल्यायौं, सिंहदरबार घरघरमा पुग्यो भनेका छौं । तर निजामती विधेयक अलपत्र छ, संघीय शिक्षा विधेयक त्यस्तै छ । प्रहरीको कुरा त्यस्तै छ । युद्धको समय बलात्कारपीडित महिलाले १८ वर्षसम्म न्याय होइन, पहिचान पनि पाइरहेका छैनन् । संक्रमणकालीन न्यायको अवस्था त्यस्तै छ । जनताले साँच्चै गणतन्त्र आएको महुसस गर्न पाएका छन् त ?

देश स‌ंघीयतामा गइसकेपछि केही नै भएको छैन भन्ने होइन । धेरै काम भएका छन् । दोस्रो कुरा, शान्ति प्रक्रियाको सत्य निरुपण र बेपत्ता सम्बन्धी काम ६ महिनामा टुंग्याउने भनेर विस्तृत शान्ति सम्झौतामा उल्लेख गरियो तर गर्न सकिएन । त्यसको लागि हामी मात्र जिम्मेवार हुन्छौं ? स्टेकहोल्डर त अरु पनि छन् नि । स्टेक होल्डर चाहिं त्यसमा सहमत छन् । स्टेकहोल्डर बाहेकका यी परे हुन्थ्यो, यता परे हुन्थ्यो भन्नेको अवरोध हामीले बारम्बार भोगेका छौं । तर पनि हामीले के कुरा खोजेनौं भने बहुमत पुर्‍याएर यसलाई पास गरौं पनि भनेनौं ।

यो धेरै महत्वपूर्ण र संवेदनशील विषय हो । बहुमतले पास गरेर गर्ने राष्ट्रिय विषय मात्रै नभएर यसको अन्तर्राष्ट्रिय आयाम पनि हुने भएकोले सहमति भन्दा-भन्दा १६/१७ वर्षपछि गएर बल्ल त्यो ऐन पास गर्‍यौं । तर अब कार्यान्वयनको निम्ति आयोग बन्नुपर्नेछ । आयोग बन्न एउटा सिफारिस समिति त बन्यो तर त्यसले पनि कसैलाई सिफारिस गर्न सकेन । पदावधि सकिएको ३/४ महिना भइसक्दा अझै आयोग बनेको छैन । अब हामीले के गर्ने ? त्यसैले यो हाम्रो मात्रै हातको कुरा थिएन । त्यसैले त हामीले सकेन भन्यौं ।

तर, तपाईंले सबै चिज ठिकठाक छ भनिरहँदा कुनैबेला प्रजा/रैतीबाट सार्वभौम नागरिक बनेका मान्छेहरू फेरि म प्रजा नै बन्छु भनेर सडकमा जानुपर्ने अवस्था कसरी बन्यो ?

हिजो नेपाली क्रान्ति मौलिक ढंगले कार्यान्वयन भयो । जनताको अभिमतद्वारा संविधानसभामा ९९ प्रतिशतभन्दा पनि बढी, करिब-करिब शतप्रतिशत मान्छे गणतन्त्रको पक्षमा भएपछि शान्तिपूर्ण ढंगले घर गए । अन्यथा के हुन्थ्यो भने, अरु देशको क्रान्ति हेर्नुभयो भने कि मारिने कि भाग्ने हो नि !

म अन्तरिम सरकारमा पनि थिएँ । गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । कृष्णप्रसाद सिटौला गृहमन्त्री हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्ने कुरा भयो । गणतन्त्र घोषणा भयो । हामीले शान्तिपूर्ण ढंगले वहिर्गमन होस् भन्यौँ । पूर्वराजाले पनि जनताको अभिमत मान्छु भनेर घोषणा गरेकाले निर्मल निवास, नागार्जुन, गाडी, सुरक्षा सबै दिएर बडो सदासयतासहित पठायौं । जनताको अभिमत मान्छु भनेर हार्दिकतापूर्वक स्वीकारेको तपाईं-हामी सबैले देखेका हौं । तर अहिले १७-१८ वर्ष हुँदा फेरि निरंकुशताको ग्रन्थी रसाउँछ भन्ने कुरा कसले सोच्छ ?

हाम्रो संविधानमा भौगोलिक अखण्डतासहित अपरिवर्तनीयमध्येको गणतन्त्र पनि हो । अहिले संविधानको अपरिवर्तनीय विषयलाई लिएर सडकमा आउने कुरा यदि निरंकुशतन्त्र भएको हुन्थ्यो भने तिनीहरू धेरै पहिले नै जेलमा जानुपर्थ्यो, दण्डित हुनुपर्थ्यो वा देशै छाडेर भाग्नुपर्थ्यो । हामीले ल्याएको लोकतन्त्रमा त मान्छेले आफ्नो विचार राख्न पाउनुपर्छ भन्ने ग्राउन्ड दिएको कुरालाई दुरुपयोग गर्ने हो भने क्षम्य हुँदैन ।

पूर्वराजा लोकतन्त्रले दिएको स्वतन्त्रता र मर्यादा मिचेर आए ?

हिजो जे कुराको स्वीकारोक्ति थियो, अहिले त्यसको आफैंले आफैंलाई उल्लंघन गरेका छन् । लोकतन्त्रको मैदानमा उनले आफ्नो कुरा राखून्, केही भएन । तर फेरि असम्भव र असंवैधानिक कुरा, नेपाली जनताले अस्वीकार गरिसकेको र संविधानमा लेखिसकेको कुराको विरुद्धमा आउन खोज्नु राम्रो होइन । हामीले लोकतन्त्रको अभ्यास गर, पार्टी खोल, चुनावमा आऊ, राष्ट्रपति होऊ वा प्रधानमन्त्री जे हुनु छ होऊ भनेकै छौँ त ।

यसो भनिरहँदा तपाईंहरूले गणतन्त्रवादी शक्ति सडकमा उतार्ने कार्यक्रम पनि राखिसक्नुभएको छ । तपाईंले प्रदर्शन गर्नुपर्ने थियो सरकार र संसदबाट तर, सडकमा प्रदर्शन गर्दै हुनुहुन्छ त्यो पनि १८ वर्षअघि अन्त्य गरेको राजतन्त्रविरुद्ध ?

तपाईं तथ्यभन्दा बाहिर जानुभयो । हामीले मधेशको अभियान केही दिन स्थगित गर्यौं । संसदमा पहिलोचोटि हाम्रो अध्यक्षले प्रमुख प्रतिपक्षी दलको हिसाबले सम्बोधन गर्नुभयो । संसदको पनि प्रयोग गर्‍यौं । त्यसपछि फेरि जनतालाई पनि सम्बोधन गर्छौं । यो त स्वाभाविक प्रक्रिया हो ।

त्यसो त, हामी आफूलाई अलि बढी जिम्मेवार किन ठान्छौं भने, गणतन्त्र माओवादीको एजेन्डा र दशौं हजारको सहादतबाट जनयुद्धमार्फत जनआन्दोलनसहितको सहमतिबाट आएको हो । त्यसैले हामी भन्छौं- गणतन्त्रबारे औंला उठाउने छुट कसैलाई छैन ।

गणतन्त्रबारे प्रश्न उठाउने छुट कसैलाई छैन भन्नुभयो । गणतन्त्र नि:शर्त व्यवस्था त होइन नि ?

गणतन्त्र त हाम्रो संविधानले अपरिवर्तनीय भनेको हो । जनतालाई सार्वभौम बनाएको पहिलो संविधान हो यो ।

कुनैबेला त राजतन्त्र पनि अपरिवर्तनीय नै थियो नि ?

थियो, तर टिक्यो त ? किनकि, त्यो निरंकुश, तानाशाही, वंशवाद, परिवारवाद लगायतका विकृति/विसंगतिको एउटा पुञ्ज थियो र जनताले त्यसबाट छुटकरा खोजे । तर छुटकारा पाउन दशौं हजारको बलिदान, हजारौंको जेलनेल, यातना, हजारौं बेपत्ता र एउटा ठूलो समय खर्चिएर यहाँ आइपुगेका हौं । त्यसैले अब समाज पछाडि फर्कंदैन । विकासको नियम पनि हो यो । त्यसैले प्रतिगामी प्रतिक्रान्तिकारीहरूले टाउको उठाउने दुस्साहस गरे भने जनतालाई खबरदारी किन नगर्ने ? उनीहरूलाई सचेत किन नगराउने ?

खबरदारी गर्ने नाउँमा अलि अगाडि संसदीय लोकतन्त्रको सामान्य अभ्यासविपरीत संसदका दुई दल मिले । अब गणतन्त्र जोगाउने भन्दै संसदका प्रमुख तीन दल मिल्ने प्रयास सुरु भएको हो ?

त्यो त तपाईं मिडियाहरुको कुरा हो ।

तपाईंको एकजना सांसदले सार्वजनिक रूपमा बोलेको कुरा हो नि ?

बोल्नुभयो होला । उहाँलाई केही लागेर बोल्नुभयो होला । तर हामी अहिले पनि सरकारमा जान इच्छुक छैनौं । हामी तीन वर्ष जनतामै गएर काम गर्छौं । गठबन्धन सरकार चलोस् भनेर हाम्रो अध्यक्षले संसदमै बोल्नुभएको छ ।

हामीले जनताको बीचमा पनि त्यो भनेका छौं । यसको अर्थ उहाँहरूले जे पनि गर्ने भन्ने होइन । उहाँहरू पाँचै वर्ष आफ्नै कारणले नटिक्नुहोला । अघिल्लो सरकारले गरेका काम उल्ट्याउने, बिचौलियाको हितमा सञ्चालित हुने, लोकतन्त्रको भरपूर उपयोग नगरी संसदमा छलफल गर्नुपर्ने समय भएको बेलामा पनि अध्यादेशबाट शासन चलाउन खोज्ने, त्यसका कन्टेन्टहरू माफिया र भूमाफिया लगायतका लागि हुने गरी ल्याउनु जस्ता कारणले हामीले त्यो पनि गलत भो भनेका छौं । सच्चिनुस् र चलाउनुस् भनेका छौं ।

तर, हरेक दिन महान्यायाधिवक्ताको काम छानबिनबाट दोषी देखिएकालाई मुद्दा नलगाउने निर्णय गर्ने काम भइरहेको छ । जसरी अध्यादेश आइरहेको छ र सरकारले काम गरिरहेको छ, त्यसले एकातिर जनतालाई निराश बनाएको छ भने अर्कोतिर प्रतिगामीहरूलाई टाउको उठाउने एउटा धरातल बनाइदिएको छ । यसको हामी भण्डाफोर गरिरहेका छौं ।

सँगै, गणतन्त्र हामीले उठाएको भए पनि समग्रमा राष्ट्रको र अहिले सत्तामा भएका दलहरुको पनि सहभागिता र सहमतिद्वारा गणतन्त्रलाई स्थापित गरेको हो । यसको रक्षाको निम्ति उहाँहरू पनि बोल्नुपर्छ । गणतन्त्रको रक्षाका लागि सबै शक्ति एक ठाउँमा आउनुपर्छ तर त्यसको अर्थ अर्थ अहिले भर्खरै सरकार बनाएर यताउता भन्ने हामीतिर छैन ।

एकातिर राजावादीहरूको ध्रुवीकरण बढ्यो भने त्यसको प्रतिक्रियामा गणतन्त्रवादी शक्तिहरूको पनि अर्को ध्रुवीकरण हुने होला नि ? यसले बिस्तारै सत्ता सहकार्यतिर लैजाला ? 

गणतन्त्रवादीहरूको ध्रुवीकरण हुनुपर्छ । तर त्यो सत्तासम्म पुग्नुपर्छ भन्ने छैन । सरकारले प्रतिगामी शक्तिले टाउको उठाउने वातावरण तयार गर्नुहुँदैन । अहिले अति विशिष्टलाई किन चाहियो सेवा सुविधा ? देश ग्रे लिस्टमा परेको छ, त्यसबाट छुटकारा पाउनु पर्दैन ? त्यता पो सोच्ने र छलफल गर्नुपर्छ र यसका लागि कैयौंका सेवा सुविधाहरू कटौती गर्नुपर्छ ।

तपाईंकै पार्टीका पूर्वप्रधानमन्त्रीहरू, पूर्व उपराष्ट्रपतिले हामी सेवा सुविधा लिन्नौं भनेर घोषणा गरेर पो यसलाई सच्याउन सकिन्थ्यो कि ? 

उहाँहरूले लिनुभएको छैन । एकजना राष्ट्रपति मेरै छेउमा बस्नुहुन्छ, एउटै टोलमा । तलपट्टि घर छ । रोडको नाम राष्ट्रपति मार्ग भनेर राखिएको छ तर, माख्लोपट्टि सरकारबाट सुविधा लिएर घरभाडामा बस्नुभएको छ । यो ढंगले किन गर्नुपर्‍यो ? त्यसैले अहिले त बरु सुविधा कटौती गर्ने बेला हो । किनकि हामी आर्थिक संकटमा छौं । जनतामा असन्तुष्टि छ । अझ जनतामा आक्रोश थप्ने काम गर्नहुन्छ ? विशिष्टहरूलाई सुरक्षा दिनुपर्छ ।

यसलाई माओवादीले एजेन्डा नै बनाएर अगाडि लैजान्छ ?

हामीले त भनिसक्यौं ।

यसो चर्चा चलेको बेला एकपटक भनिदिने अनि छोडिदिने ? 

होइन । हामी हाम्रो अध्यक्षलाई आफैं पाल्न सक्छौं । हाम्रो पार्टीले पाल्न सक्छ ।

अहिले पालिरहेको छ ? 

पाल्छ । उहाँ आफैं पनि सुकुम्बासी होइन । केही छ । सांसद हुनुहुन्छ, तलब आउँछ ।

भनेपछि पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले केही सुविधा लिनुभएको छैन ? 

सेक्युरिटी बाहेक अरु लिनुभएको मलाई थाहा छैन । जनताले खान नपाउने, औषधि नपाउने, युवाहरूले देशभित्र रोजगारी नपाउने अनि एकथरि मानिसले चाहिं सुविधाको नाममा लिइरहने ? त्यसैले सुविधा लिनुहुँदैन भन्छु म ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM