१ चैत, काठमाडौं । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । उनलाई शुक्रबार कप्तान नियुक्त गरिएको हो ।
टोलीमा रहेका अनुभवी फाफ डु प्लेसिस र केएल राहुलको पनि नाम चर्चामा रहिरहँदा तेस्रो चर्चित नाम अक्षरलाई कप्तानको जिम्मेवारी दिइएको हो । अक्षर भारतका अनुभवी बाँयाहाते अलराउण्डर हुन् ।
सन् २०१९ को संस्करणदेखि नै दिल्लीको टोलीसँग आबद्ध रहेका अक्षरलाई गत नोभेम्बरमा भएको मेगा अक्सनमा १६ करोड ५० लाख भारुमा रिटेन गरिएको थियो । उनको कप्तानी अनुभव धेरै नभए पनि उनलाई यसै वर्ष जनवरीमा भारतको टी-२० टोलीको उप-कप्तान बनाइएको थियो।
३१ वर्षीय अक्षरले आफ्नो घरेलु टोली गुजरातलाई विभिन्न फर्म्याटमा २३ खेलमा नेतृत्व गरेका छन्। हालै उनले २०२४-२५ को सैयद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा कप्तानी गरेका थिए।
उनले गत सिजनको आईपीएलमा बेंगलुरुसँगको खेलमा दिल्लीको कप्तानी गरेका थिए । नियमित कप्तान रिषभ पन्तले लगातार स्लो ओभर रेटका कारण कप्तानबाट प्रतिबन्ध व्यहोरेपछि अक्षरले जित्नैपर्ने खेलमा दिल्लीको कप्तानी गरेका थिए जुन खेलमा पराजित भएको थियो ।
मेगा अक्सनका बेला रिषभलाई रिलिज गरेपछि दिल्ली कप्तानको पनि खोजीमा थियो । अक्सनमा किनिएका केएल राहुल कप्तान बन्ने चर्चा रहेपनि उनले कप्तानी नलिने निर्णय लिएको खबर पनि बाहिर आइरहेका थिए ।
अक्षरले दिल्लीका लागि ६ सिजनमा ८२ खेल खेलेका छन्। गत सिजन उनले करिब ३० को औसतमा २३५ रन बनाएका थिए भने ७.६५ इकोनोमी रेटमा ११ विकेट लिएका थिए।
भारतले गतवर्ष टी-२० विश्वकपको उपाधि जित्दा अक्षर पनि मुख्य सदस्य रहेका थिए जहाँ फाइनलमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए ।