२९ फागुन, पोखरा । कास्कीबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भेला भएका समर्थकले अहिलेको व्यवस्थामाथि असन्तुष्टि जनाए । तर, कास्कीकै रुपा गाउँपालिकाको रुपाकोट रिसोर्ट बसेर फर्किएका पूर्वराजा र राजसंस्थातर्फ त्यहीँका नागरिकको उतिसाह्रो चासो र चिन्ता देखिएन । बरु त्यहाँका नागरिकले त यो संघीय व्यवस्थाले घरघरै विकास ल्याएको तर गाउँमा बस्ने र त्यो विकासको अधिकतम् उपयोग गर्ने मानिस नभएकोमा चिन्ता व्यक्त गरे ।
संघीय व्यवस्थासँगै स्थापना भएको रुपा गाउँपालिकाको स्थापना दिवसलाई नागरिकहरुले टोलटोलबाटै उत्सवका रुपमा मनाए । मुस्लिम, नेवार, मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, दलित समुदाय आ–आफ्ना परम्परागत पोशाक, बाजागाजा र साँस्कृतिक झाँकीसहित भेला भएका थिए । गाउँपालिकाका ७ वटै वडाका टोल–टोलबाट केन्द्रमा भेला भएर उनीहरुले स्थापना दिवसलाई उत्सवका रुपमा मनाए ।
उनीहरुले गाउँका हरेक जातीअनुसारका झाँकी र खानेकुरा, गाउँपालिका गठन भएपछि खुलेका कृषि फार्मबाट उत्पादित बस्तुको प्रदर्शनी, गाउँमै हुर्किएका बाख्रापाठा, गाउँमै काडेको मह तथा जडिबुटीको बिक्री र प्रदर्शनसहित अनुभव आदानप्रदानसमेत गरे ।
गाउँपालिकाले हरेक क्षेत्रका उल्लेख्य काम गर्नेलाई सम्मान तथा पुरस्कृत गर्दै प्रोत्साहन पनि गर्यो । पालिका स्थापना दिवसमा भेला भएका नागरिकहरुले संघीयतापछिको विकास र सेवाको अनुभवसमेत सुनाए ।
संघीयता व्यवस्थासँगै स्थापना भएको गाउँपालिका नेतृत्वले तीव्र गतिमा बाटो, बिजुली, खानेपानी र गाउँ–गाउँबाटै लिन मिल्ने गरी सेवा पुयाएको उनीहरुको भनाइ छ ।
‘हिजो बाटो, बिजुली, खानेपानी थिएन, गाउँका मानिसले सहजै स्वास्थ्य सेवा पाउँदैनथ्ये । मानिसका समस्या लिएर सदरमुकाम पुग्नुपर्थ्यो, नेताको हात समाउँदै केन्द्र धाउनुपर्थ्यो’ पालिकाको केन्द्रमा आइपुगेका अब्दुल मियाले भने, ‘तर, संघीयतापछि गाउँपालिका बन्यो, गाउँपालिका नेतृत्वलाई खबरदारी गर्न पाइयो, उनैले विकासका पहल गर्न थाले, सानातिना काम वडाबाटै हुन थाले, नभए भन्ने मान्छे गाउँमै भेटिन थाले ।’
नेवाः समुदायको झाँकीसहित नेतृत्व गरेर गाउँपालिका पुगेका रुपा–५ का गोपिलाल जोशीले विकास र सेवाका हिसाबले सहज बने पनि गाउँमै मान्छे कसरी टिकाउने भन्ने चिन्ता व्यक्त गरे ।
रुपा–६ भोर्लेका तिलबहादुर खड्का कुनै एक व्यक्तिले छुमन्तर गर्न नसक्ने भन्दै अहिलेको व्यवस्थाले जनप्रतिनिधिलाई शासक होइन, सेवक हुन र कम्तिमा नागरिकप्रति उत्तरदायी हुन प्रेरित गरेको बताउँछन् ।
‘बिजुली, बाटो, खानेपानी, स्वास्थ्य सेवालगायत दिने काम सरकारको हो, त्यसको उपयोग गर्ने जनताले हो । तर, एकअर्काको देखासिकी गर्ने, दुःख गर्न नखोज्ने र छिटो कमाउनुपर्ने कुराले निराशा बढाएको हो,’ तिलबहादुरले भने, ‘हिजो राणा शासन, पञ्चायती व्यवस्था र अहिलेको गणतन्त्र पनि बेहोरियो । तर, अहिलेको व्यवस्थाजस्तो उदार र सहज कहिल्यै थिएन ।’
गाउँमा मान्छे टिकाउने चिन्ता
पहिले गाउँमा विकास नपुग्दा बरु धेरै मानिस बसेको तर अहिले सुविधा पुगे पनि उपभोग गर्ने युवा नभएको गाउँलेको चिन्ता छ ।
युवा पलायनले खेतबारी बाझिँदै गएको र बुढाबुढीमात्रै गाउँमा बस्नुपर्ने परिस्थितिले निराशा बढेको तेजादेवी रेग्मीको बुझाइ छ । ‘विदेश गए छिटो कमाइन्छ भन्ने भयो । कमाइले सहरमा छोराछोरी पढाउने पनि बढ्न थाले । यहाँको रोजगारीले नधान्ने भयो, सँगैको साथीभाइले छिट्टै घर बनाएको देखेपछि छिमेकी र अरु युवा पनि लालायित हुने नै भए,’ उनले भनिन्, ‘गाउँमा बाँदर आतंक बढ्यो ।’
रुपाको गाउँका मुख्य सडकहरु पनि पिच हुँदै गइरहेका छन् । सबै घरमा बिजुली पुगिसकेको छ । एक घर, एक खानेपानी योजना अन्तिम चरणमा पुगिसकेको छ । पालिकामै विशेषज्ञसहित २५ शय्याको अस्पताल बनेको छ । कृषि उत्पादनलाई जोड दिइएको छ । ‘एक घर एक घार मौरी’ कार्यक्रमले महका लागि गाउँहरु प्रख्यात भइरहेका छन् ।
सन्तबहादुर भुजेल भन्छन्, ‘हामीले हेर्दाहेर्दै गाउँमा धेरै विकास आयो । सेवा वडाबाटै पाइयो । वडा, पालिका अध्यक्षदेखि प्रदेश र माथि (केन्द्र)का सांसदलाई पनि समस्या परे भन्न पाइएकै छ । तर, गाउँमा मान्छेलाई टिकाउने कसरी भन्ने नै प्रमुख चिन्ता हो ।’
पालिका स्थापना हुनुअघि एक मिटर पनि पिच बाटो नपुगेको रुपा गाउँपालिकामा अहिले झण्डै एक सय किलोमिटर कालोपत्रे भइसकेको छ । ३ सय ९२ कृषि फर्म अहिले दर्ता भएर केही न केही उद्यम गरिरहेको तथ्यांक गाउँपालिकाको छ ।
एक घर, एक घार मौरी कार्यक्रमले रुपाको मह पोखरामा खपत हुने क्रम बढ्दो छ । सबै वडामा पक्की स्वास्थ्य चौकी, पालिकामा विशेषज्ञसहितको अस्पताल बनेका छन् । देशकै प्रविधिमैत्री र नमूना विद्यालय भनेर कार्यक्रम रुपामै कार्यान्वयन भइरहेको छ ।
‘प्रदेश र संघबाटसमेत परेका योजनाले गाउँलाई छोइरहेको छ तर गाउँबाट युवा र मानिसको मोह टाढिइरहेको छ,’ तिलबहादुर भन्छन्, ‘नेताहरुको नसुध्रिएको मति, नागरिकका निराशाले हो व्यवस्थामथि नै प्रश्न उठेको, जनताले विकल्प खाजेका तर केही नभएको भन्ने होइन, अहिलेका मान्छेले सम्पन्न देश देखे, भोगे र तुलना गर्दा कमजोर पाए ।’
नेता र ठूला भनिएका राजनीतिक दलका कारण निराशा बढे पनि उनीहरु सच्चिएर र यही व्यवस्थालाई बलियो बनाउनुको विकल्प नभएको उनको बुझाइ छ ।
‘अहिलेकै व्यवस्थालाई बलियो बनाउनुको विकल्प छैन’
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा अहिलेको प्रमुख समस्या नै गाउँ गाउँमा विकास आइपुग्यो तर मानिसलाई कसरी यहीँ टिकाउने भन्ने चिन्ता भएको बताउँछन् । ‘आज भौतिक विकास गाउँगाउँ, घरघर पुगेको छ । तर, अब सहर र गाउँलाई जोडेर कस्तो खालको विकास गर्ने र गाउँमा मान्छे कसरी टिकाउने भन्ने चुनौति हो,’ अध्यक्ष ओझाले भने, ‘गाउँमा उत्पादन बढाउने र सहरका मानिसहरुलाई हामीले यो–यो दिन सक्छौं भनेर बोलाउने, लगानीको वातावरण बनाउने हाम्रो प्राथमिकतामा छ ।’
गाउँमा राम्रो गरिरहेकाहरुलाई सम्मान र प्रोत्साह गर्ने, गाउँको संस्कृति र वैभवलाई जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, सांस्कृतिक तथा जैविक विविधतालाई संरक्षण गर्ने र गाउँप्रति मान्छेहरुको आकर्षण बढाउनकै लागि स्थापना दिवसमा सबै क्षेत्रलाई जोड्ने काम गरिएको उनको भनाइ थियो ।
पालिकाले रुपा गाउँपालिकामा जन्म वा कर्मले योगदान दिने र चिनाउनेलाई ‘रुपा रन्त’ का रुपमा सम्मान गर्ने गरेको छ । यसपटक ११ जना ‘रुपा रत्न’बाट विभूषित भए । उत्कृष्ट किसान, सांस्कृतिक झाँकी, उत्कृष्ट बाख्रापालक, उत्कृष्ट मह उत्पादन गरी विभिन्न क्षेत्रका व्यक्तिलाई पालिकाले सम्मान गरेको छ ।
भलिबलको उर्बर थलो रुपामा पालिकाले नै भलिबल प्रतियोगिता गरेर बचाइराख्ने काम बर्सेनि गरिरहेको छ ।
गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी ‘केही भएन, गाउँमा केही छैन’ भन्नेहरुलाई रुपाले उत्तर दिने र सम्मानले नागरिकलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्दै भन्छन्, ‘अहिलेकै व्यवस्थालाई बलियो बनाउनुको विकल्प छैन ।’