२८ फागुन, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।
निजामती कर्मचारी अस्पताल विकास समितिको बुधबार बसेको बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
सिभिल अस्पतालमै कार्यरत डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।
सिभिल अस्पतालको कार्यकारी निर्देशकका लागि रेग्मीसहित डा. रुद्र मरासिनी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित सिफारिस समितिले एक नम्बरमा डा. यादव, दुई नम्बरमा डा.मरासिनी र तीन नम्बरमा डा.रेग्मीको नाम सिफारिस गरेको थियो ।
सिभिल अस्पतालको निर्देशक बन्नका लागि १० जनाले आवेदन दिएका थिए ।
अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल यही फागुन २५ गते सकिएको थियो ।