२७ फागुन, काठमाडौं । विगत सात कारोबार दिनदेखि सेयर बजार लगातार झरिरहेको छ । प्राविधिक रुपमा देखिएका कुनै सपोर्ट प्वाइन्टमा बजार थामिन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार सबै सूचक सन्तोषजनक छन् । मुलुकमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च २३ खर्ब ६९ अर्ब पुगेको छ ।
भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजारअनुकूल छन् । तर यस्तो अनुकूल अवस्थामा पनि बजारले भने उल्टो प्रतिक्रिया जनाइरहेको छ ।
बजार बढ्दा पनि लगातार बढ्ने र घट्दा पनि लगातार घटेको पछिल्लो एक महिनाको ट्रेन्डले देखाउँछ । फागुन १ गते २६७८ अंकमा रहेको बजार लगातार बढेर फागुन १८ गते २८९० अंकमा पुगेको थियो । दुई साताको अवधिमै बजार २१२ अंक बढेको थियो ।
फेरि फागुन १९ देखि भने बजार लगातार झरिरहेको छ । त्यसयताका सात कारोबार दिन लगातार बजार झर्दै आज मंगलबार २७१९ अंकमा झर्यो अर्थात् समग्रमा फागुन १ पछि बजार २१२ अंक बढ्दा १७१ अंक घटिसकेको छ, बाँकी ४० अंक मात्रै धनात्मक छ ।
बजार एकोहोरो बढ्ने र घट्दा पनि एकोहोरो घट्नुको पछाडि लगानीकर्ताको अपरिपक्वता रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।
‘बजार बढ्न थाल्दा पनि अब त किन्नै पाइन्न, रेल नै छुट्यो जसरी नै खरिदको पछाडि दौड सुरु हुन्छ’ उनले भने ‘घट्न थालेपछि पनि अब त डुब्यो, फेरि १८ सय आउँछ जस्तोगरी बेच्ने दौड चल्छ यहीं कारण बजारले एकोहोरो प्रवृत्ति देखाइरहेको छ ।’
मुलुकमा संस्थागत लगानीकर्ताको अभाव, भएका संस्थागत लगानीकर्ताको क्षमता कमजोर भएकाले पनि बजार प्रवृत्ति एकोहोरो अवस्थामा
बजारका लागि अहिले सबै पक्ष सकारात्मक छ । कतिपयले पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा दुई दिन अघि देखिएको भीडलाई पनि बजार घट्नुको कारणका रुपमा बुझेका छन् ।
‘राजतन्त्र नै फर्किन लागेकोजस्तो व्यवहार लगानीकर्ताले देखाए, असम्भव विषयलाई लिएर हल्ला चलाउनु वा त्यहीं हल्लाका आधारमा किनबेच गर्नु नै अपरिपक्व हो’ ढकालले भने ‘केही समयपछि यो फन्डा हराएर जान्छ ।’
नेपाल राष्ट्र बैंकका अहिलेका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर लगानीकर्ताले लचिलो नभएको रुपमा हेरिरहेका छन् । ठूलो सेयर कर्जामा कायम गरिएको १२५ प्रतिशतको जोखिमभार तथा व्यक्तिले १५ करोडसम्मको कर्जा पाउने विषय कायम राखेका कारण केहीले आलोचना पनि गर्दै आएका छन् ।
उनको कार्यकाल चैतको तेस्रो साता सकिँदै छ । यो विषय पनि अहिलेका लागि बजारअनुकुल नै रहेको लगानीकर्ताको टिप्पणी छ । सामान्यतः बजार केही अंक बढेपछि प्रोफिट बुक गर्ने र बजारको करेक्सन पर्खिनु नै सेयर कारोबारमा अनुशासन हो ।
बजार बढ्दै जाँदा बेच्न तयार भएर सेयरको आपूर्ति बढाउने र करेक्सन आइसकेपछि खरिदमा बसेर माग बढाउने परिपाटी विकास हुँदा जोखिम पनि न्यून हुन्छ । त्यसले बजार बढ्दा धेरै बढ्न पाउँदैन भने घट्दा पनि धेरै घट्न पाउँदैन ।
तर लगानीकर्ता अनुशासनमा नभई डर र लोभको भावनामा बहकिँदा बजार एकोहोरिने गरेको छ । नेपालमा मात्रै नभई विश्वका अन्य बजारमा पनि लगानीकर्तामा यस्तो भावना विकास हुने गरेको लगानीकर्ता पिताम्बर खकुरेल बताउँछन् ।
बजार केही अंक घट्न थालेपछि लगानीकर्तामा ‘बियरिस’ भाव तुरुन्त देखिने गरेको छ । ‘यसअघि ३२ सयको बजार १८ सयमा झरेको भोगाइ ताजै छ, त्यसकारण नै बजार घट्दा डर लागिहाल्छ र थप घट्ने डरले घाटा भए पनि बेचिहाल्ने भाव विकास हुन्छ’ उनले भने ।
मुलुकमा संस्थागत लगानीकर्ताको अभाव, भएका संस्थागत लगानीकर्ताको क्षमता कमजोर भएकाले पनि बजार प्रवृत्ति एकोहोरो अवस्थामा आएको उनको भनाइ छ ।
सबै म्युचुअल फन्डको आकार जम्मा ६० अर्ब हाराहारी छ । तीबाहेक बीमा कम्पनी, लगानी कम्पनी र बैंक तथा वित्तीय संस्था पनि संस्थागत लगानीकर्ता हुन् । संचालनमा रहेका स्टक डिलर झनै कमजोर छन् ।
‘संस्थागत लगानीकर्ता बलियो र धेरै हुन्थे भने बढेका बेला आपूर्ति बढाउँथे र घटेका बेला माग बढाउँथे, यसले माग र आपूर्ति सन्तुलित हुँदा बजार एकोहोरो हुँदैनथ्यो’ उनले भने ‘तर यहाँ भएका संस्थागत लगानीकर्ताको क्षमता कमजोर नै छ ।
बजार उतारचढाव हुँदा केही कारोबारीले भने मस्त कमाउने गरेका छन् । बजार एकोहोरो बढ्नु र एकोहोरो घट्नुलाई कारोबारी हाबी हुनुको अर्थमा पनि बुझ्न सकिन्छ ।
बजार न्यूनतम विन्दुमा आएका बेला खरिद गर्ने र बढेका बेला बेचेर पुनः गिरावट पर्खिने कारोबारीले राम्रो कमाइ गर्दै आएका छन् ।