Sunday, March 23, 2025
घरसमाचार८ वटा मुद्दाका अभियुक्तले पूर्वराजाको भान्जा भन्दै ठगे सवा करोड

८ वटा मुद्दाका अभियुक्तले पूर्वराजाको भान्जा भन्दै ठगे सवा करोड

२७ फागनु, काठमाडौं । पूर्वराजाका भान्जा बताउँदै सवा करोड रुपैयाँभन्दा बढी ठगेको आरोपमा प्रहरीले चार जनाको समूहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउने काठमाडौं महानगरपालिका-२७ का ५३ वर्षीय अनुप सिंहसहित चार जनामाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । परिसरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार उनीहरूमाथि कीर्ते र ठगीको कसुरमा अनुसन्धान भइरहेको छ ।

६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि दुई जना भने अझै फरार छन् । प्रहरीले सिंहसँगै उनका सवारी चालक ललितपुरका सचिन व्यञ्जनकार, उनका वकिल इलाम घर भएका प्रकाश खनाल र कलंकीस्थित दिव्यज्योति कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजकुमार केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यो गिरोहसँग ठगीमा सहभागी भएको आरोप लागेका अरू दुई जना भने फरार रहेको प्रहरीको भनाइ छ ।

ठगीको मुख्य व्यक्ति अनुप सिंह रहेको प्रहरीको भनाइ छ । उनलाई अन्य व्यक्तिहरूले सहयोग गरेको प्रहरीले जनाएको छ । ठगीको रकम वकिलदेखि चालकसम्मको खातामा हाल्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एकै महिलाबाट मात्रै ९७ लाख रुपैयाँ ठगी गरेको भन्दै सिंहविरुद्ध जाहेरी परेको छ । दाहाल थरकी एक महिलाले दुई छोरी, एक छोरा र आफूसहित चार जना अमेरिका जाने भन्दै सिंहलाई ९७ लाख रुपैयाँ बुझाएको बताउँदै जाहेरी दिएकी छिन् ।

ती महिलासँग सिंहले आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन बताएको जाहेरीमा उल्लेख छ । विमान चालक क्याप्टेन रहेको भन्दै सिंहले आर्मी पोशाकमा खिचाएको तस्बिर समेत देखाएको दाबी महिलाको छ ।

उच्च पदस्थसँग राम्रो चिनजान भएको भनी विश्वास दिलाएपछि पटकपटक गरी ९७ लाख रुपैयाँ बुझाएको महिलाको भनाइ छ ।

नक्कली कागजात बनाएर दिलाउँथे विश्वास

विश्वास दिलाउन सिंहले नक्कली कागजात बनाउने गरेको समेत खुलेको छ । उनको साथबाट प्रहरीले अमेरिकाको नक्कली भिसा बरामद गरेको छ । दाहाल महिलाकै नाबालक छोराका नाममा सिंहले नक्कली भिसा बनाएको कागजात बरामद भएको एसएसपी अधिकारीले बताए ।

केही व्यक्तिलाई भने उनले पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै विश्वास दिलाएर ठगी गरेको खुलेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

त्यसैगरी वैदेशिक रोजगार विभागका विभिन्न पत्रहरू, हवाई टिकट र कार्यक्रम रहेको खुल्ने किसिमका कागजात समेत बरामद भएका छन् ।

‘विश्वासमा दिलाउन नक्कली भिसादेखि वैदेशिक रोजगार विभागका डकुमेन्ट समेत बनाएको खुलेको छ । जसकारण ठगीसँगै कीर्तेमा पनि अनुसन्धान गरिरहेका छौं,’ परिसरका डीएसपी नरहरि अधिकारीले भने ।

पारस शाहकी छोरीको इन्गेजमेन्टमा लैजाने भन्दै उठाए रकम

कसैलाई नेपाली सेनाको क्याप्टेन दर्जामा रहेको विमान चालक बताएका सिंहले केही व्यक्तिलाई भने पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा समेत बताउने गरेका थिए । राज खानदानसँग राम्रो सम्बन्ध रहेको, दूतावासको मान्छेसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उनले विश्वासमा दिलाउने काम गरेका थिए ।

केही व्यक्तिलाई भने उनले पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै विश्वास दिलाएर ठगी गरेको खुलेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

‘आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भान्जा भनेर चिनाउने र पारस शाहकी छोरीको इन्गेजमेन्ट हुँदैछ भनेर विश्वासमा पारेर समेत ठगी गरेको देखिएको छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

अमेरिकामा गत ६ जनवरीमा पारस शाहकी छोरी पूर्णिकाको इन्गेजमेन्ट कार्यक्रम तय भएको बताउँदै उक्त कार्यक्रममा लैजाने भनेर रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

त्यसका लागि विश्वास दिलाउन उनले नक्कली कागजात समेत बनाएको खुलेको प्रहरीको भनाइ छ ।

हातहतियारदेखि ठगी र कीर्तेसम्मका अभियुक्त

अहिले सातौं मुद्दामा ललितपुर प्रहरीको हिरासतमा रहेका सिंह पटके अभियुक्त रहेको खुलेको छ । उनी पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध यसअघि ६ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको छ ।

सीआरएसअनुसार उनीविरुद्ध सुरुमा २०५७ सालमा सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । सार्वजनिक (हाल अभद्र) कसुरबाट अपराधको दुनियाँ छिरेका उनी अहिले नामुद ठगीको सूचीमा छन् ।

२०५७ सालपछि १ वर्षसम्म उनी कुनै अपराधमा मुछिएका छैनन् । २०७३ सालमा आएपछि भने उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगीको कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिन्छ ।

त्यसपछि २०७७ सालमा उनीविरुद्ध परिसर काठमाडौंमा दुई पटक दुई वटा मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजाना र ठगीको कसुरमा दुई वटा मुद्दा चलेको थियो ।

त्यसपछि २०८० सालमा काठमाडौंबाटै ठगीको मुद्दा चलेको भेटिएको छ । अहिले २०८१ मा ठगीकै कसुरमा ललितपुरमा पक्राउ परेका छन् । अहिले नै उनीविरुद्ध परिसर काठमाडौंमा पनि ठगीको जाहेरी परेको छ ।

पक्राउ परेका सिंह छुट्ने भए परिसर काठमाडौंको जिम्मा लगाउन पत्राचार समेत गरिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -