२७ फागनु, काठमाडौं । दुबईबाट आएको आधा किलो सुन दोस्रो प्रयासमा लुटिएको खुलेको छ । दुबईबाट तस्करी गरेर सुन पठाउने व्यक्ति, बोकेर ल्याउने भरिया र सुनकाबारेमा जानकार भएका व्यक्तिले दोस्रो प्रयासमा सुन लुटेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
प्रहरीको अनुसन्धान रिपोर्टअनुसार यो सुन लुटपाटका मुख्य योजनाकार हरिबहादुर लामा हुन् । काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३६ वर्षीय हरिबहादुर बौद्धमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । उनैले भगौडा प्रहरी समेत र युवती समेतको प्रयोग गरेर सुन लुटेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
दुबईबाट स्यानिटरी प्याडमा लुकाएर ल्याएको आधा किलो सुन १४ पुसमा लुटिएको थियो । घटनाको चार दिनपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । यो मुद्दा अहिले अदालत पुगेर धरौटी र पुर्पक्षमा समेत पठाउने आदेश भइसकेको छ ।
अनुसन्धानका क्रममा हाल फरार हरिबहादुर मुख्य योजनाकार हुन् । उनकै योजनामा दोस्रो प्रयासमा सुन लुटिएको हो ।
फरार हरिबहादुर र अर्का फरार प्रतिवादी सन्तोष तामाङ मिलेर बौद्धमा सेन्नर हाउस नाम रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
लालबहादुर तामाङले उनीहरूसँग उक्त रेस्टुरेन्टमा जाने–आउने क्रममा चिनजान भएको दाबी गरेका छन् । उनै हरिबहादुर सुन लुटपाटको योजना बनाएपछि उनकै निर्देशनमा लुटिएको लालबहादुरको बयान छ ।
सुन लुटपाटका लागि भन्दै हरिबहादुरले ११ पुसमा नयाँबस्तीको वाइल्ड हाउस रेस्टुरेन्टमा बोलाएर योजना बनाएको अर्का प्रतिवादी तथा भगौडा प्रहरी सुजन नेपालीको बयान छ । उनै हरिबहादुरले दुबईबाट सुन लिएर आउने युवती सविना स्याङ्तानको फोटो समेत ह्वाट्स एपमा पठाएको भेटिएको छ ।
‘दुबईबाट सुन लिएर आउने युवतीको उताबाट हिँड्न लागेका बेलाको तस्वीर, सुनको फोटो समेत हरिबहादुरले पठाएको देखिन्छ । युवतीको तस्वीर र फोटो उनले भगौडा प्रहरी नेपालीलाई समेत पठाएको भेटिएको छ’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
सबै विवरण हरिबहादुरले थाहा पाउनुले उनी आफैं दुबईबाट सुन पठाउने गिरोहसँग कनेक्सन भएको हुनसक्ने आशंका देखिन्छ । तर उनी फरार रहेकाले यो विषयमा भने यकिन हुन नसकेको प्रहरी अधिकारी बताउँछन् ।
सुरुमा १२ पुसमा सविना स्याङ्तान नाम गरेका युवतीले आधा किलो सुन लिएर आउने भन्दै सोही अनुसार लुटपाटको योजना बनाएको थियो ।
तर १२ पुसमा सविना दुबईबाट नआउने भएपछि उनीहरूको योजना असफल भयो । १४ पुसमा उनी आउने भएपछि सोही अनुसार तयारी गरेर सुन लुटपाट भएको थियो ।
पक्राउ परेका प्रतिवादीहरूको भनाइ अनुसार हरिबहादुरले उक्त सुन आफ्नै भएको दाबी गरेका थिए । ‘आफ्नै सुन हो केही फरक पर्दैन । लिएर आउने मान्छे पनि आफ्नै हो भनेर लुट्न लगाएको पक्राउ परेकाहरूले बताएका छन्’ एक अनुसन्धान अधिकृत भन्छन् ।
प्रहरी कार्यालयभित्र लगेर लुटपाट
सुन लुटिएको हैन, प्रहरीले पक्राउ गरेर लगेको हो भन्ने पार्न उनीहरूले प्रहरी कार्यालयभित्रै लगेर लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ ।
दुबईबाट स्यानिटरी प्याडमा लुकाएर ल्याएको सुन लिएर सविना ट्याक्सी चढेर बनेपा जान भनेर लागिन् । उनी सवार बा२ज ११५५ नम्बरको ट्याक्सी फलो गर्दै सुजन नेपाली, अनिता र लालबहादुर गए । गट्ठाघरबाट सानोठिमीतर्फ ट्याक्सी गयो ।
मुख्य योजनाकार हरिबहादुर लामाले भगौडा प्रहरी र युवती प्रयोग गरेर सुन लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
त्यसपछि उनीहरूले हामी प्रहरी हौं भन्दै ट्याक्सी रोके । र प्रहरी प्रभाग सानोठिमीभित्र उक्त ट्याक्सी हुले । आफू सीआईबीबाट खटिएको प्रहरी भन्दै सुजनले प्रहरीको कार्ड समेत देखाएका थिए । त्यसपछि शरीर खानतलासी गर्दै उनीसँग भएको आधा किलो सुन उनीहरूले लिए ।
सुन लुटेपछि उनीहरू तीन जना (सुजन, अनिता, लालबहाखदुर) त्यहाँबाट पूर्वयोजनाअनुसार बाहुनधारास्थित एक रेस्टुरेन्टमा गएका थिए ।
उक्त रेस्टुरेन्टमा सन्तोष र हरिबहादुर पहिल्यै बसिरहेका थिए । उक्त आधा किलो सुन उनीहरूले हरिलाई दिएका थिए । हरिबहादुरकी श्रीमती रन्जिता तामाङ समेत भएर उक्त सुन संगीता लामाको कोठामा लगेर लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । लुटे वापतको रकम सुन बिक्री गरेपछि दिने बताएकाले आफूहरूले रकम नपाएको पक्राउ परेकाहरूको बयान छ ।
३ जना कारागार चलान
दुबईबाट आएको आधा किलो सुन लुटपाट प्रकरणमा पक्राउ परेका मध्ये तीन जना कारागार चलान भएका छन् । दुई जना भने धरौटीमा रिहा भएका छन् ।
सुरुमा प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ पक्राउ गरेको थियो ।
पछि अनुसन्धानका क्रममा काभ्रेको नमोबुद्ध नगरपालिका–९ घर भई काठमाडौं बौद्ध बस्ने ३० वर्षीया रञ्जिता तामाङ र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई काठमाडौं बस्ने ३३ वर्षीया संगीता लामा पक्राउ परेका थिए ।
उनीहरू बाहेक फरार रहेका मुख्य योजनाकार काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३६ वर्षीय हरिबहादुर लामा, काभ्रकै पनौती नगरपालिका–१३ का २७ वर्षीय सन्तोष तामाङ र दुबईबाट सुन ल्याउने भरिया काभ्रेकै महाभारत गाउँपालिका–५ कि ३५ वर्षीया सविना स्याङ्तान समेत ९ जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उनीहरूविरुद्ध भन्सार छली ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । जसमध्ये सुजन, अनिता र लालबहादुर पुर्पक्षका लागि कारागार चलान भएका हुन् । २० फागुनको न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
त्यसैगरी रञ्जिता र संगीतालाई भने जनही १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको थियो । उनीहरू धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
उनीहरू दुई जनाविरुद्ध भने मतियारको रूपमा मुद्दा चलाइएको थियो । रञ्जिता मुख्य योजनाकार हरिबहादुरकी श्रीमती हुन् । उनी हायत होटलको डीआई समेत रहेको खुलेको छ ।
संगीताको कोठामा लुटिएको सुन लुकाएर राखेकाले उनीविरुद्ध पनि मतियारको रूपमा मुद्दा चलाइएको थियो ।
कसरी छिर्यो विमानस्थलबाट सुन ?
लुटिएको उक्त सुन विमानस्थलको सुरक्षा जाँच पार गर्दै बाहिरिएको थियो । विमानस्थलको सुरक्षा पास भएर बाहिरिनुले त्यहाँको सुरक्षामा समेत प्रश्न उठेको छ ।
यसबारे भने विमानस्थलका कर्मचारी पन्छिने गरेका छन् । यो घटनामा प्रहरीले विमानस्थलको सुरक्षामा खटिनेसँग समेत केरकार गरेको छ ।
सुन आएको बेला यात्रु जाँचपासमा खटिएका भन्सार अधिकृत रमेश कुँवरसँग समेत प्रहरीले बयान कागज गरेको थियो । विमानस्थलमा विगत तीन वर्षदेखि कार्यरत भन्सार अधिकृतले कुँवरले भन्सार र सशस्त्र प्रहरीको संयुक्त जाँच हुने बताएका थिए ।
‘अध्यागमन प्रक्रिया पूरा गरेपछि भन्सार क्षेत्रमा आउने गर्छन् । उनीहरूको साथमा रहेका सामान स्क्यानर मेसिनबाट र शरीर जाँच वाक थ्रु मेसिन तथा मेसिन डिटेक्टरबाट हुने गर्छ’ भन्सार अधिकृत कुँवरको बयान छ, ‘यात्रुको शरीर जाँच सशस्त्र र सामानको जाँच भन्सारले गर्छ ।’
सविनाले स्यानिटरी प्याडमा लुकाएर ल्याएको भनिएकाले उक्त शरीरको जाँच सशस्त्र प्रहरीको भन्दै कुँवरले बयान दिएका छन् । अनलाइनमा समाचार आएपछि मात्रै सविनाले स्यानिटरी प्याडमा लुकाएर सुन विमानस्थलबाट कटाएको बारे जानकारी पाएको दाबी कुँवरको छ ।
यस विषयमा प्रहरीले विमानस्थलमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक रञ्जितकुमार यादवसँग पनि सोधपुछ गरेको थियो । उनी विगत ६ महिनादेखि विमानस्थलमा खटिएका छन् ।
‘हाते मेटल डिटेक्टरबाट कुनै गैरकानुनी धातुजन्य समान रहेको/नरहेको सुनिश्चित भएपछि मात्रै यात्रुलाई पठाइन्छ’ यादवको बयान छ, ‘समाचार आएपछि मात्रै यो घटनाबारे जानकारी पाएको हुँ ।’