२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको बताएका छन् ।
आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर, कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले सरकार असफल भएको हो वा जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको भन्दै प्रश्न गरे ।
‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन । माइतीघरमण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याज पीडितले सीडीयो कार्यालयभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ । गुठीपीडित जनतासयौँ किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित बनेका छन्,’ उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्धउत्पादक किसान होउन वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन वा उखु किसान, दलित हुन् वा महिला म आज सबैलाई आन्दोलनमै देखिरहेको छु ।
उनले अहिलेको स्थिति अलि जटिल रहेको पनि बताए ।