२६ फागुन, काठमाडौं । प्रश्नबाटै उदाएका नेता हुन् डा. सीके राउत, तर अचेल उनी आफ्नै पार्टीभित्र प्रश्नहरुको तेजोबध गर्न अग्रसर देखिन्छन् ।
जनमत पार्टीका अध्यक्ष डा. राउतले पार्टीमा उनको आलोचना गर्नेलाई कारबाहीको डण्डा निरन्तर चलाउँदै आएका छन् । असन्तुष्टहरुलाई एक पछि अर्को गरी पार्टीबाट हटाउने र स्पष्टीकरण सोध्ने कार्य गरेका छन् ।
आइतबार र सोमबार महोत्तरीको बर्दिवासमा केन्द्रीय समितिको बैठक बस्नु अघि राउतले उपाध्यक्ष एवं अनुशासन समितिको संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बन समेत गरे ।
उपाध्यक्ष साहलाई एक साता अघि स्पष्टीकरण सोधिएको छ भने गत शनिबार कोषाध्यक्ष यादवलाई निलम्बन सहितको पत्र पठाइएको छ । निलम्बित उपाध्यक्ष साहले मंगलबार स्पष्टीकरणको जवाफ पठाउने जानकारी गराए ।
जनमतका नेताहरु पार्टीभित्र राउतलाई खुसी बनाउन नसक्ने नेताहरु पार्टीमा टिक्न सक्ने अवस्था नरहेको बताउँछन् । पार्टीबाट हटाउने देखि स्पष्टीकरण सोध्नेको सूची लामो रहेको जनमतका नेताहरुको दाबी छ ।
कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादव लगायतका नेताहरु निष्कासनमा परेका छन् । केन्द्रीय तहका नेताहरुमा दर्जन बढीलाई स्पष्टीकरण सोधिएको छ । उपाध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिएको तर त्यसलाई सार्वजनिक भने नगरिएको जनमतका एक नेताले जानकारी गराए ।
ती नेताले भने,‘जनमत पार्टी फुटाउन लागेको शंकाले अब्दुललाई स्पष्टीकरण सोधिएको थियो । यो कुरा अब्दुल मन्त्री भएर निस्केपछिको कुरा हो ।’ अध्यक्ष राउतको अति शंका गर्ने बानीले पार्टीमा समस्या आएको उनले सुनाए ।
स्पष्टीकरण सोधिएका थप केन्द्रीय नेताहरुमा सचिव बीपी साह, अनिता साह, भुपेन्द्र यादव हुन् । बीपी साहको निलम्बन फुकुवा गरिएको छ । केन्द्रीय सदस्य शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।
पछिल्लो समय कारबाहीमा परेका उपाध्यक्ष साहलाई गम्भीर आरोपहरु लगाउँदै स्पष्टीकरण माग सहित निलम्बन गरिएको छ । उपाध्यक्ष साह आइतबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएनन् । पार्टीभित्र देखिएका विसंगतिका बारेमा कुरा उठ्ने देखेर नै आफूलाई पार्टीबाट हटाइएको उपाध्यक्ष साहले अनलाइनखबरसँग भने ।
पार्टी प्रवक्ता डा.शरदसिंह यादव विधिसंगत नेताहरु चल्न नसकेकै कारणले स्पष्टीकरण सोध्नु परेको बताउँछन् । स्पष्टीकरण सोध्ने पार्टीको विधि भएको उल्लेख गर्दै प्रवक्ता यादव भन्छन्, ‘विधि र विधानले चल्ने पार्टीमा स्पष्टीकरण पनि सोध्न पाउनु पर्यो नि । जवाफ दिने कि मिडियावाजी गर्ने हो ?’
स्पष्टीकरण मधेसका मुख्यमन्त्रीलाई समेत सोधिएको र जवाफ पार्टी सन्तुष्ट रहेपछि निरन्तर पदमा रहेको यादवले जानकारी गराए ।
उपाध्यक्ष साहलाई सोधिएको स्पष्टीकरणमा उपल्लो पदमा रहेर पार्टीलाई समय नदिएको एवं महत्वपूर्ण बैठकमा सहभागी नभएको उल्लेख छ । पार्टी स्थापनाको घोषणा हुने बेलामा समेत उपस्थित नभई पहाडमा जागिर खाएर बसेको आरोप साहलाई लगाइएको छ ।
‘विधि र विधानले चल्ने पार्टीमा स्पष्टीकरण पनि सोध्न पाउनु पर्यो नि । जवाफ दिने कि मिडियावाजी गर्ने हो ?’-डा.शरदसिंह यादव, प्रवक्ता, जनमत
गत निर्वाचनमा जनमतलाई आफ्नो एक भोट नदिएको र पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको गम्भीर आरोप उनी माथि पार्टीले लगाएको छ । साथै, उपाध्यक्ष साहले अध्यक्ष राउत विरुद्ध समाचार लेख्न लगाएको, जसपाका नेताहरुसँग मिलेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ ।
अध्यक्षको विरुद्धमा कुरा लगाएको भड्काएको र जिल्ला–जिल्लामा तथा देशविदेशमा कार्यकर्ताहरुलाई फोन गरी पार्टी विभाजन गर्न गुट बनाएको साह माथि आरोप छ ।
साहले तथ्यहीन आरोप सहित स्पष्टीकरण सोधिएको बताए । ‘म त उहाँहरुसँग मलाई लगाइएको आरोपको तथ्य माग्दैछु,’ साहले अनलाइनखबरसँग भने ।
साह पेशाले इन्जिनियर हुन् । जनमतको स्थापनाकालीन समयमा कार्यालय भक्तपुरको सूर्यविनायकमा साहको घरमा थियो । जिविकोपार्जनका लागि नेताको पेशा हुनुपर्ने र राजनीतिलाई सेवाभाव बनाउनु पर्ने मान्यता आफ्नो रहेको सुनाउँदै साहले भने,‘राजनीतिलाई सेवाको भावनाले गर्यो भने मात्रै दिगो राजनीति हुन्छ । पेशा र व्यवसाय राजनीति गर्ने व्यक्तिको हुनुपर्दछ ।’
साह स्थापनाकालीन समयमा राउतका ‘सर्वाधिक’ विश्वासिलो पात्र थिए । एक समय पार्टी बैठकको निर्णयको माइन्युटमा पर्दा पछाडि बसेर काम गर्ने व्यक्तिका रुपमा चित्रण गरिएको थियो। साहको दाबी अनुसार राउतलाई इन्जिनियर पढाउन हौसला दिने उनै थिए । इन्जिनियर पढ्नुमा दीपक साह (हाल निलम्बित) को देन रहेको पुस्तकमा समेत राउतले लेखेका छन् । साहले भने, ‘अहिले मै माथि भयंकर षडयन्त्र भएको छ ।’
गत शनिवार केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई सात दिनको स्पष्टीकरण सोधेर निलम्बन गरिएको छ । उनलाई स्पष्टीकरण सोधिएको दोस्रोपटक हो । यादवले अध्यक्ष राउतसँग आर्थिक हरहिसाबको कुरा उठाएपछि कारबाहीमा परेको बताए ।
‘देउवा र ओली उनीहरुको पार्टीमा हाबी भएजस्तै सीके जनमतमा हाबी छन् । सीको विरुद्धमा भित्रभित्रै बोल्नेहरु छन्,’ निलम्बित कोषाध्यक्ष यादव भन्छन्, ‘साइड साइडमा कानेखुसी गर्छन् । तर खुला बोल्ने वातावरण छैन ।’
कोषाध्यक्ष पदमा हुँदा यादवले विदेशमा बस्नेहरुसँग पैसा उठाएर आर्थिक अनियमितता गरेको आरोप सहित स्पष्टीकरण सोधिएको छ । गत निर्वाचनमा पार्टी अध्यक्ष र उनका दाजुलाई पराजित गर्ने उद्धेश्यले यादवले भूमिका खेलेको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।
‘देउवा र ओली उनीहरुको पार्टीमा हाबी भएजस्तै सीके जनमतमा हाबी छन् । सीको विरुद्धमा भित्रभित्रै बोल्नेहरु छन्,साइड साइडमा कानेखुसी गर्छन् । तर खुला बोल्ने वातावरण छैन ।’ सुरेन्द्र नारायण यादव,निलम्बित कोषाध्यक्ष
पार्टीलाई आर्थिक सहयोग गर्ने हैसियत आफ्नो भएकाले कोही व्यक्तिसँग रकम माग्नुपर्ने अवस्थामा नरहेको यादव दाबी गर्छन् । २०७९ सालको निर्वाचनमा सप्तरी–१ मा जयकान्त राउत र २ मा अध्यक्ष राउतले प्रतिस्पर्धा गरेका थिए । जयकान्त राउतका सहोदर दाइ हुन् । सप्तरी–बाट अध्यक्ष राउत निर्वाचित भएका थिए । जयकान्त भने क्षेत्र नम्बर १ बाट पराजित भए ।
जनमतका नेताहरुका अनुसार अध्यक्ष राउतले आफ्नो दाजु जयकान्तलाई अघि बढाउन संस्थापक नेताहरुलाई किनाराकृत गर्दै आएका छन् । जयकान्त राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।
अध्यक्ष राउतले पार्टीमा एकमत नहुँदा नहुँदै समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउने प्रयत्न गरेका थिए । सभामुख देवराज घिमिरेले जनमत चारपटक पत्र लेखेर सांसद सापकोटा हटाउन माग गरेको थियो ।
सभामुख घिमिरेले भने पदमुक्त गर्न आधार नभएको जनाउँदै जनमतको मागलाई इन्कार गरेका थिए । सांसद सापकोटालाई हटाउन हुँदैन भनेर पार्टीमा आवाज उठाएपनि सुनुवाई नभएको निलम्बित उपाध्यक्ष साहले बताए । ‘नियम पुग्दैन । हटाउन माग नगरौं भनेर अध्यक्षको विरुद्धमा म थिएँ,’ साहले भने।