नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।
नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा आज नेपालगञ्जमा ‘जरा अभियान’अन्तर्गत २०४९ देखि २०७९ सालको स्थानीय निर्वाचनमा पार्टीबाट प्रत्याशी बनेका उम्मेदवारको सम्मान तथा अभिमुखीकरण कार्यक्रम’ मा महासचिव पोखरेलले विकास, समृद्धि र सुशासन कायम गर्ने उद्देश्यका साथ गठन भएको सरकार निर्वाचनसम्मै जाने बताउनुभयो । उहाँले कसैले चाहेर सरकार नढल्ने भन्दै सरकार आफ्नो लक्ष्य र अभिभारा सम्पन्न गर्ने गरी अघि बढेको उल्लेख गर्नुभयो ।
एमाले बाँके स्थानीय विकास विभाग संयोजक मिन बहादुर मल्लले कार्यक्रममा २०४९, २०५४, २०७४ र २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडादेखि पालिका, गाविसदेखि जिविससम्म उम्मेदवार बनेका नेतालाई सम्मान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत करिब तीन हजार प्रत्याशी उम्मेदवारलाई सम्मान गरिएको हो ।