२०८२ भाद्र ३१ गते, मंगलवार १८:४१

नेपालको रोजगारी अवस्था: चुनौती र समाधान

– ऋतु देवकोटा

नेपालको रोजगारीको अवस्था नियाल्दा, युवाहरू योग्यता अनुसारको अवसर नपाएर निराश हुनुपरेको यथार्थ छ। कतिपय अवस्थामा, वृद्धभत्ताले वा वृद्ध बा-आमाको कमाइमा भर परेर पढेका योग्य युवा उचित रोजगारीको अभावमा संघर्ष गर्न बाध्य छन्। मेहनत गरेर पढ्दा पनि जब उपयुक्त अवसर नपाइन्छ, तब शिक्षा नै निरर्थक लाग्न थाल्छ।

इतिहासदेखि वर्तमानसम्मको तुलना

एक समय थियो जब योग्यता नभए पनि खान, लगाउन, र बस्न सहज थियो। जीवनमा सन्तुष्टि पाइन्थ्यो। तर, अहिले परिस्थिति उल्टो छ। जीवनलाई समृद्ध बनाउने लक्ष्यका साथ संघर्ष गर्दा पनि, योग्यतासहितका युवाहरूले अवसर नपाउँदा देशभित्रै निराशा बढेको छ। बेरोजगारीको समस्या विकराल बन्दै गएको छ।

नेपालको राजनीतिक परिदृश्य झनै चिन्ताजनक छ। यदि योग्यताअनुसार रोजगारीको उचित व्यवस्था गरिएको भए, लाखौं नेपाली युवा-युवतीहरू खाडी मुलुकमा श्रम गर्न बाध्य हुने थिएनन्। गरिबीको दलदलबाट उम्कनका लागि शिक्षा हासिल गर्ने तर फेरि गरिबीमै फर्कनुपर्ने विडम्बना नेपाली युवाहरूको नियति बनेको छ। रोजगारी नपाएर ऋण उठाएर विदेश जानुको पीडा कल्पना मात्र गर्दा पनि हृदय चसक्क हुन्छ।

समस्या समाधान कहिले?

योग्यता र दक्षताअनुसार रोजगारीको सिर्जना कहिले हुन्छ? गरिबीबाट नेपाल कहिले उन्मुक्ति पाउँछ? यी प्रश्नहरूको जवाफ खोजिनुपर्छ।

नेपालका राजनीतिक दल र नेताहरूको भाषण सुन्दा परिवर्तनको आशा पलाउँछ, तर जब वास्तविकता हेर्छौं, केवल निराशा हात लाग्छ। यदि उनीहरूले बोलेको व्यवहारमा पनि लागू गरेका भए, विकासले गति लिने थियो। देशभित्रै रोजगारीका अवसर सिर्जना भएका भए, युवाहरू विदेशिन बाध्य हुने थिएनन्।

नेपालको शिक्षा प्रणालीलाई रोजगारीमुखी र प्रतिस्पर्धात्मक बनाउनु आवश्यक छ। यदि नेपालका शिक्षण संस्थाहरू Oxford वा Harvard स्तरका बनाइएका भए, यदि पढ्दै जागिर पाउने व्यवस्था मिलाइएको भए—कति राम्रो हुने थियो! तर वास्तविकता भिन्न छ। भ्रष्टाचार, घुसखोरी, र राजनीतिक अकर्मण्यताले देशलाई पछाडि धकेलिरहेको छ।

हाम्रो चाहना: परिवर्तनको लहर

अब नेपालले नयाँ दिशामा अग्रसर हुनुपर्छ। रोजगारीको उचित व्यवस्था हुनु अत्यावश्यक छ। गरिबी र बेरोजगारी अन्त्य गर्न दीर्घकालीन रणनीतिक योजना लागू गरिनुपर्छ।

नेपालको विकासले नयाँ गति लिनुपर्छ, जहाँ शिक्षा, रोजगारी, र आत्मनिर्भरता हरेक नागरिकका लागि सुनिश्चित होस्। योग्यताअनुसारको रोजगारी सिर्जना गरियो भने मात्र नेपाली नागरिकहरू विदेशीनुपर्ने बाध्यता हट्छ। युवाहरूले आफ्नै देशमा उज्जवल भविष्य देख्न सकून्।

अब परिवर्तनको बाटो रोज्नुपर्ने समय आएको छ। अबको नेपाल अवसरको भूमि बनोस्। नेपाली युवाहरूलाई आफ्नै देशमा स्वाभिमानसहित बाँच्ने अवस्था बनोस्।

समृद्ध नेपालका लागि शुभकामना!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM