Friday, February 7, 2025
घरसमाचारजापान सरकारद्वारा अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग

जापान सरकारद्वारा अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग




अछाम । अछामको बयालपाटा अस्पताललाई जापान सरकारले सहयोग गरेको छ । जापानी राजदूतावासले नेपालका दुर्गम क्षेत्रको स्वास्थ्य सुधारका लागि सहयोग गर्ने क्रममा अछामको बयालपाटा अस्पताललाई आवश्यक आधुनिक स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गर्ने भएको हो । नेपालका लागि जापानका राजदूत तोरु मायदा र बयालपाटा अस्पताल सञ्चालक न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षितले सहयोग सम्बन्धी सम्झौतामा गत शुक्रबार हस्ताक्षर गर्नुभएको हो ।

ग्रामीण स्वास्थ्य सेवालाई सुधार गर्ने उद्देश्यले १६ वर्षअघि स्थापित न्याय हेल्थ नेपालले हालसम्म १३ लाख बिरामीको निःशुल्क विश्वस्तरीय स्वास्थ्य उपचार र विशेष हेरचाह सेवा प्रदान गरिसकेको छ । जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत दूतावासले अस्पताललाई ९१ लाख ८२ हजार रुपैयाँको अनुदान सहयोग गर्ने भएको हो । प्राप्त सहयोगले अस्पतालले डिजिटल एक्स–रे मेशिन र सि–आर्म इमेजिङ मेशिन खरिद गर्नेछ । जुन मेसिनबाट बिरामीको तत्कालै उच्च गुणस्तरीय एक्स–रे गर्न सकिन्छ । यो सहयोगले बयालपाटामा कार्यरत चिकित्सक तथा शल्य चिकित्सकहरूलाई समयमै रोगको निदान गर्न, प्रभावकारी शल्यक्रिया र उपचार गर्न सहयोग गर्ने न्याय हेल्थ नेपालका अध्यक्ष दीक्षितले बताउनु भयो ।

गत डेढ दशकमा सुदूरपश्चिम प्रदेशमा देखिने रोगहरूमा परिवर्तन आएको उल्लेख गर्दै दीक्षितले पछिल्ला वर्ष सङ्क्रामक रोगभन्दा दीर्घकालीन र आघातजन्य रोगको प्रभाव बढ्दै गएकाले अस्पतालले परिवर्तित अवस्थासँग जुझ्ने प्रयास गरिरहेको बताउनु भयो । न्याय हेल्थ नेपालले बयालपाटा अस्पताललाई एकीकृत पालिकास्तरीय स्वास्थ्य सेवाको खाकामा सञ्चालन गरिरहेको छ । अस्पतालका नर्सहरू घरघरै गएर समुदायका सबै परिवारको स्वास्थ्य जानकारी अद्यावधिक गर्दै सङ्कलित जानकारीलाई इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीमा समावेश गरिन्छ ।

न्याय हेल्थ नेपालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीलाई कर्णाली प्रदेशका जिल्ला अस्पतालमा पनि जडान गरेको छ । जुन प्रणाली २०७२ सालको भूकम्पपछि दोलखाको चरिकोट अस्पताललाई पनि हस्तान्तरण गरिएको छ । चरिकोटको सो अस्पताल पाँच वर्षदेखि बागमती प्रदेश अन्तर्गत सञ्चालित छ । तीन साताअघि मात्रै आफ्नो कार्यकाल सम्हाल्न नेपाल आएका राजदूत मायदाले यस सहयोगले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनतामाझ ट्रमा केयर र अर्थोपेडिक सर्जरी मार्फत प्रभावकारी स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -