२०८२ माघ ७ गते, बुधबार १२:५१

देशव्यापी फैलिंदै मिचाहा झार, सीमान्तकृत वर्ग झन् समस्यामा

१८ माघ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ काङ्गा गाउँका पूर्णबहादुर घर्ती (९०) पहिले आलु मनग्य फलाउँथे । एक सिजन फलाएको आलु अर्को सिजन सुरु हुने बेलासम्म रहन्थ्यो । तर केही वर्षयता पहिले जस्तो आलु फल्न छाड्यो । उनका भनाइमा ‘भोटे झार (कतैकतै ज्वाने झार पनि भनिने) ले आलु उत्पादन करिब आधाले घटाएको छ ।’

‘यो झार आलुबारीमा छपक्कै फैलिएर मल खाइदिन्छ । जमिन पनि रुखो बनाउँछ’ आलु नफल्नुको कारण सुनाउँदै घर्ती भन्छन्, ‘यो झारले गर्दा आलु उत्पादन आधै कम भयो ।’

काङ्गा गाउँ समुद्री सतहदेखि २,८५० मिटर उचाइमा पर्दछ । यो गाउँको मुख्य उत्पादन आलु हो । तर, आलु नै फल्न छाडेपछि त्यहाँका किसानहरू विकल्पको खोजीमा छन् । ‘आलुको दाना सानो हुन्छ, फल पनि कम लाग्छ । त्यसैले मैले यो वर्ष मकै रोपें’, भारतीय सेनाका पूर्वजागिरे समेत रहेका घर्तीले भने ।

कान्छा छोरा थमप्रसाद घर्ती (३८) ढोरपाटन नगरपालिका वडा नम्बर ९ को सचिव छन् । २०७५ सालदेखि सो वडामा पदस्थापन भएका थमप्रसाद पनि स्थानीयलाई ‘भोटे झार’ ले दिनुसम्म हैरानी दिएको सुनाउँछन् । ‘गाउँका किसान भोटे झारले दुःख दियो भन्नुहुन्छ’ वडा सचिव घर्ती भन्छन्, ‘तर त्यसलाई नियन्त्रण गर्ने उपाय हामीसँग छैन ।’

ढोरपाटन नगरपालिका–९ कै स्यालापाखे गाउँका गणेश विक (३१) ढोरपाटन शिकार आरक्षका कर्मचारी हुन् । उनको परिवारको मुख्य पेशा कृषि हो । चार पुस्तादेखि स्यालापाखे गाउँमा बस्दै आएको बताउने विक पनि ‘भोटे झार’ को मार खेपिरहेका कृषक हुन् । ‘पहिलेको तुलनामा आलु उत्पादन धेरै नै घटेको छ । मलाई लाग्छ ३०/४० प्रतिशत नै घटेको होला’, विक भन्छन् ।

पर्वतमा देखियो ‘ज्वाने झार’

पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका केशबहादुर रेग्मी ‘ज्वाने झार’ को प्रकोपबाट पीडित छन् । दुई कार्यकाल स्थानीय सामुदायिक वनको अध्यक्ष बनिसकेका रेग्मी अहिलेसम्म ज्वाने झार नष्ट गर्ने कुनै उपाय आफूले नभेटेको बताउँछन् ।

‘सुरुमा यो अलि तल पदमचौर भन्ने ठाउँमा देखियो । ६–७ वर्षयता खुर्कोटमै देखिएको छ’ रेग्मी भन्छन्, ‘जति उखेल्यो, उति फैलिन्छ । जे बाली लगाए पनि यसले सर्लक्कै खाइदिन्छ ।’

यो झारको प्रकोप विस्तारै विस्तारै गाउँघरहरूमा फैलिरहेको उनको भनाइ छ । रेग्मीको बुझाइमा  यसको असर हिउँदे बालीमा बढी छ । धान काटिसकेपछि लगाउने हिउँदे फसललाई यसले हानि गरिरहेको छ ।

‘हिउँदे फसललाई चिस्यान नभई हुँदैन तर चिस्यान पाउनासाथ ज्वाने झारको वृद्धिदर उकालो लाग्छ’ उनी भन्छन्, ‘यसले असाध्यै सतायो हामीलाई ।’ रेग्मीका भनाइमा अहिले ज्वाने झार सँगसँगै निलो गन्धे झारले पनि पर्वतका किसानलाई सताउन थालेको छ ।

झापामा ‘उल्टा काँडा’

२०७७ सालमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का होमप्रसाद आचार्यले पालेका ७० खसी–बाख्रा एकैचोटि मरे । पशु चिकित्सक सहितको टोलीले ती खसी–बाख्रा मर्नुको कारण ‘उल्टा काँडा’ घाँस भएको निष्कर्ष निकालेको थियो ।

उल्टा काँडा

यसको अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभागका प्राध्यापक भरतबाबु श्रेष्ठ भन्छन्, ‘उल्टा काँडाको पातमा विषालु रसायन हुन्छ । बिर्तामोडको घटनापछि झापा र मोरङमा अध्ययन गर्दा त्यही उल्टा काँडाको घाँस खाँदा २५० भन्दा बढी गाईवस्तु र ५०० बढी बाख्रा मरेको भेटियो । संख्या योभन्दा पनि बढी हुनसक्छ ।’

फरेस्ट एक्सन नेपालको जैविक विविधता तथा पुनस्र्थापना केन्द्रका टिम लिडर डा. लीलानाथ शर्मा समेतको संलग्नतामा गरिएको उक्त अध्ययनको रिपोर्टपछि २०७८ सालमा ‘उल्टा काँडा’लाई मिचाहा प्रजातिको सूचीमा अभिलेख गरियो । उल्टा काँडा लज्जावती झार जस्तै देखिने भएकाले मानिसले घाँस ठानेर गाईवस्तुलाई खुवाउँदा ती चौपाया मरेका थिए ।

‘एक जना महिलाले त उल्टा काँडाको झुस बिझेपछि एलर्जी जस्तो भयो, पाँचपटकसम्म खरानी पानीले नुहाउनुपर्‍यो भनेर पनि सुनाउनुभएको थियो’ शर्मा भन्छन्, ‘हामी सबै ठाउँमा पुग्न सकेका छैनौं तर अहिलेसम्म हामीले गरेको ‘डकुमेन्टेसन’ मा यो मिचाहा प्रजातिको गम्भीर समस्या छ ।’

के हो मिचाहा प्रजाति ?

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, मिचाहा प्रजाति भन्नाले ‘जानीजानी अथवा अज्ञानमै हाम्रो मानव परिवेशमा भित्र्याइएका र त्यहाँबाट प्राकृतिक परिवेशमा फैलिएका, हाम्रो अर्थतन्त्र, वातावरण र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गैर रैथाने अथवा बाह्य प्रजातिहरू’ भन्ने बुझिन्छ ।

इसिमोडका अनुसार, यस्ता प्रजातिहरूको प्रायः छोटो जीवनकाल, उच्च वृद्धिदर र धेरै क्षेत्रमा फैलिन सक्ने क्षमता हुन्छ । धेरै संख्यामा बीउ उत्पादन हुने तथा नयाँ परिवेशलाई छिट्टै आफ्नो नियन्त्रणमा ल्याउन सक्ने क्षमता भएकाले मिचाहा बाह्य प्रजातिहरूले रैथाने प्रजातिहरूमाथि आधिपत्य स्थापना गर्न सक्छन् ।

नेपालमा सबैभन्दा पहिले भित्रिएको मिचाहा प्रजातिको करौंते घाँस

वनस्पति विभागको एक प्रकाशनका अनुसार, विभिन्न मुलुकबाट विभिन्न माध्यमले नेपालमा सन् १८२० मा बाह्य मिचाहा वनस्पति भित्रिएको पाइन्छ । नेपालमा भित्रिएको पहिलो बाह्य मिचाहा वनस्पति करौंते घाँस हो । यसको उद्गमस्थल अमेरिका हो । त्यसपछि सेतो वनमारा सन् १८२५ मा नेपाल भित्रिएको पाइन्छ ।

सन् २०१६ मा १२४ देशमा गरिएको एक अध्ययनमा बाह्य मिचाहा प्रजातिले कृषि क्षेत्रमा पार्ने जोखिमका हिसाबले नेपाल तेस्रो स्थानमा छ । मंगोलिया पहिलो, गिनी बिसाउ दोस्रो र बंगलादेश चौथो स्थानमा छन् ।

उल्टा काँडा (मिमोसा डिप्लोट्रिचा), लहरे वनमारा (माइकेनिया मिक्रान्था), सेतो वनमारा (क्रोमोलेना ओडेरलामा), काँडे वनमारा/वनफाँडा (लान्टना क्यामेरा) र जलकुम्भी (इकोर्निया क्रसिपिस) अति हानिकारकको सूचीमा संसारभर अभिलेखित छन् । यसैगरी कालो वनमारा (एजिरेटिना एडिनोफोरा) नीलो गन्धे, जलजम्बु, वन सिलाम र पातीझारलाई मध्यम हानिकारकको सूचीमा राखिएको छ ।

हानिकारक अर्थात् पिराहा वनस्पतिको सूचीमा सेतो गन्धे, काँडे लुँडे, थाकल, कालो कुरो, फूल झार, चित्लांगे, बेसरम (अजम्बरी/बेहिया), करौंते घाँस, लज्जावती, सुगा प्वाँखे, चरिअमिलो, कुम्भिका, ठूलो टाप्रे, आलु पाते, सिंगापुर डेजी, जंगली सूर्यमुखी, भेडे कुरो, नयाँ पाटे सल्ला र इपिलइपिल छन् ।

वनस्पति विभागले प्रकाशित गरेको ‘नेपालमा फैलिएका बाह्य मिचाहा प्रजाति’ पुस्तकमा लेखिए अनुसार, सेतो गन्धेझार सबैभन्दा धेरै ५२ जिल्लामा फैलिइसकेको छ । यसैगरी सेतो वनमारा २३ जिल्लामा, जलकुम्भी १५ जिल्लामा, वनफाँडा ३४ जिल्लामा र लहरे वनमारा १२ जिल्लामा फैलिएका छन् ।

मिचाहा प्रजातिका झार

नेपालमा बाह्य मिचाहा वनस्पतिहरू तराईको ६० मिटरदेखि उच्च पहाडको ३६०० मिटरसम्म फैलिएका छन् । जिल्लागत रूपमा ७० भन्दा बढी जिल्लामा यस्ता मिचाहा वनस्पतिहरू फैलिएका छन् । जलवायु परिवर्तनको असर बढ्दै जाँदा मिचाहा प्रजाति पनि फैलिंदै जाने विभागको निष्कर्ष छ । वनस्पति अध्येता डा. उत्तमबाबु श्रेष्ठको अध्ययन अनुसार सन् २०५० सम्ममा ४ हजार मिटर भन्दा माथिसम्मको क्षेत्रमा फैलिने अनुमान छ ।

मिचाहा प्रजातिका वनस्पतिहरू जंगल क्षेत्र, सडकको आसपास, गाउँ शहरका बस्ती क्षेत्र, धार्मिक स्थल, ऐतिहासिक सम्पदा क्षेत्र, बाँझो र खुला जमिन, खेतबारी, चौर, पार्क एवं तालतलैया, पोखरी, दलदल क्षेत्र, खोला किनार आदिमा धेरै पाइन्छन् । यिनले रैथाने वनस्पति, जैविक विविधता, सिमसार क्षेत्र र कृषि उत्पादनमा ह्रास ल्याई खाद्य सुरक्षा र मानव स्वास्थ्यमा संकट पैदा गरेको अध्येताहरू बताउँछन् ।

वनस्पतिविद् भरतबाबु श्रेष्ठ र ग्लोबल इन्ष्टिच्युट अफ इन्टरडिस्प्लिनरी स्टडिजका डाइरेक्टर डा.उत्तमबाबु श्रेष्ठ समेतको संलग्नतामा गरिएको एक अध्ययन अनुसार, मिचाहा प्रजातिका वनस्पति नेपालका २० वटै संरक्षित क्षेत्रमा फैलिइसकेका छन् । आठ वटाको त ५० प्रतिशत भूभाग यसले ढाकिसकेको छ ।

कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ भन्छन्, ‘मिचाहा प्रजातिका कारण जग्गा बाँझो हुने, अतिक्रमण हुने क्रम बढेको छ । यसले खाद्य संकटको खतरा बढाउँछ । मिचाहा प्रजातिको सवालमा धेरै वन मन्त्रालयबाट काम भइरहेको छ, हाम्रो मन्त्रालय जोडिएको छैन । हाम्रो काम रियाक्टिभ मात्र देखिएको छ । नीति निर्माता (सांसद) हरूलाई पनि यो विषयमा धेरै जानकारी छैन ।’

मान्छे सँगसँगै हिंड्छ मिचाहा

वनस्पतिविद प्राध्यापक डा. भरतबाबु श्रेष्ठका अनुसार, मिचाहा प्रजाति प्राकृतिक अवरोधका कारण आफैं फैलिन सक्दैनन् । तर यातायात सञ्जाल र मानिसहरूको आवत–जावतले गर्दा ती देश–विदेश पुगिरहेका छन् । अर्थात् मिचाहा प्रजाति फैलिनुमा मानवीय गतिविधि जिम्मेवार छन् ।

मानिसहरू आउजाउ हुँदा सवारी साधन, पशुचौपायाको गोबर लगायतका माध्यमबाट तिनका बीउ र बोट फैलिन्छन् । यस्तो फैलावट नेपालको तराई, चुरे र तल्ला पहाडी क्षेत्रमा बढी देखिएको अर्का अध्येता डा. उत्तमबाबु श्रेष्ठ बताउँछन् । ‘जहाँ सडक सुविधा पुगेको छ, मानिसहरूको घनत्व बढी छ, त्यहाँ मिचाहा प्रजाति पनि पुगेका छन्’ डा. श्रेष्ठ भन्छन्, ‘सुरुमा देख्दा सामान्य लागे पनि पछि ती ठूला समस्या बनिदिन्छन् ।’

उनका अनुसार तुलनात्मक रूपमा मध्य नेपालमा मिचाहा प्रजातिको फैलावट बढी र कर्णाली प्रदेशका जिल्लामा कम देखिन्छ । तर, दुई महिनाअघि कर्णालीका जिल्ला घुम्दा नेपालमा पाइने ३० मिचाहा प्रजातिमध्ये २१ प्रजाति फेला पारेको उत्तमबाबु श्रेष्ठ बताउँछन् ।

यी प्रजाति कतिपय मानिसहरूको खानाको रूपमा र कतिपयको घर सजावटको रूपमा फैलिएका छन् । तर बाहिरबाट भित्रिएका सबै वनस्पति मिचाहा हुँदैनन् । उदाहरणका लागि हाम्रो भान्साको अभिन्न अंग बनिसकेको गोलभेंडा दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ‘गोलभेंडा नेपालका लागि बाह्य प्रजाति हो । यसैगरी ऐंसेलु नेपालको रैथाने वनस्पति प्रजाति हो भने अमेरिकाका लागि यो बाह्य हो । मकै, फर्सी, सयपत्री, मेवा पनि बाह्य प्रजाति हुन् । तर यी नेपालका लागि पिराहा छैनन्,’ भरतबाबु श्रेष्ठ भन्छन् ।

फेवातालमा फैलिएको जलकुम्भी

कतिपय चाहिं एउटा प्रयोजनका लागि प्रयोगमा ल्याउँदा फैलिएर मिचाहा बनेका छन् । उदाहरणका लागि किर्ने काँडा पनि भनिने वनफाँडा/वनमासा/काँडे वनमारा (ल्यान्टना) बगैंचामा रोप्न भनेर अमेरिकाबाट भारत हुँदै नेपाल ल्याइएको पाइएको छ । नेपालमा पहिलो पटक सन् १८४८ मा यसको पहिचान भएको थियो । रंगीचंगी साना–साना फूलको गुच्छा बनेर फुल्ने भएकाले यो हेर्दा सुन्दर देखिन्छ । तर, अहिले यसको फैलावट टाउकोदुखाइको विषय बनिरहेको छ ।

 

यस्तै ‘सिंगापुर डेजी’ भनिने फूल पनि बगैंचा सजाउनकै लागि ल्याइएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७८ सालमा प्रकाशित गरेको ‘कृषकको लागि तथ्यपत्र’मा उल्लेख भएअनुसार नेपालमा सर्वप्रथम सिंगापुर डेजी काभ्रे जिल्लाको पाँचखाल क्षेत्रमा सन् २०२० मा पहिचान भएको थियो । विश्वका अति हानिकारक १०० मिचाहा प्रजातिमा पर्ने यो फूल नेपालमा विकास साझेदारहरू मार्फत भित्रिएको अनुमान छ ।

अमेरिकी महादेशको रैथाने प्रजाति सिंगापुर डेजी लहरे, गोरु आँखे वा लहरे विडेलिया नामले पनि चिनिन्छ । सूर्यमुखी परिवारको यो झारको फूल पहेंलो वा सुन्तला रंगको हुन्छ । वनस्पतिविद् भरतबाबु श्रेष्ठका अनुसार, यो जमिनमा गुन्द्री ओछ्याइए जसरी फैलिने बहुवर्षीय झार हो । माटोको अम्लीयदेखि क्षारीयपनाले समेत यसको फैलावटमा खासै असर गर्दैन ।

‘यो झार फैलिएको ठाउँमा अन्य वनस्पतिहरू उम्रिन वा हुर्किन सक्दैनन् । यसले स्थानीय जैविक विविधतामा नकारात्मक प्रभाव पार्दछ र रैथाने प्रजातिहरूलाई विस्थापित गर्दछ’, श्रेष्ठ भन्छन् ।

अध्येताहरु मिचाहा प्रजातिका कारण जंगल क्षेत्रमा च्याउ घटेको र सीमान्तवर्ग समस्यामा परेको बताउँछन् । फोटो : च्याउ विशेषज्ञ शिव देवकोटाको फेसबुक

कुनै बेला घर सजाउन भनेर ल्याइएको जलकुम्भी पनि अहिले पोखरी र तालमा फैलिएर नियन्त्रणमा सकस परिरहेको छ । सन् १९६६ तिर नेपाल भित्रिएको पाइएको जलकुम्भी हटाउन फेवातालमा हरेक वर्ष मेसिन प्रयोग गर्नु परिरहेको छ । जलकुम्भीले पानीको सतह घटाउने र पानीमा आश्रित जीवलाई हानि गर्ने जानकारहरू बताउँछन् ।

सीमान्तकृत वर्ग थप मारमा

फरेस्ट एक्सन नेपालका लीलानाथ शर्माका अनुसार, मिचाहा प्रजातिले विपन्न र सीमान्तकृत वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको पाइएको छ । ठाउँ र प्रजाति अनुसार असर फरक–फरक हुने उनी बताउँछन् ।

‘तराईमा बस्ने मेचे, सन्थाल, थारू समुदायका मानिसहरू जंगलमा पाइने च्याउमा एकदम धेरै निर्भर हुन्छन् । अहिले जहाँ मिचाहा प्रजातिले ढाकेको छ त्यो ठाउँमा च्याउ कम पाइन थालेको छ’ पूर्वी नेपालका भूभागमा अध्ययनमा संलग्न शर्मा भन्छन्, ‘उन्युँ वर्गमा पर्ने जिब्रे साग र मुजुरखुट्टे साग पनि धेरै नै घटेको छ ।’

मिचाहा प्रजातिको झाडीले वन पैदावार संकलन गर्न पनि समस्या हुने र सुक्खायाममा डढेलोका लागि इन्धनको काम गर्ने उनी बताउँछन् । साथै चरन क्षेत्रमा उल्टाकाँडा झार उम्रिंदा कतैकतै गाईवस्तुलाई पगाह लगाउने ठाउँ पनि अभाव हुन थालेको शर्माले बताए ।

‘डाइभर्सिटी एण्ड डिष्ट्रिब्युसन्स’ नामको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भरतबाबु श्रेष्ठ र उत्तमबाबु श्रेष्ठको अनुसन्धान रिपोर्टमा आगामी दिनमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा १६ प्रकारका मिचाहा प्रजातिको घनत्व र सीमा पनि बढ्दै जाने निष्कर्ष छ । र, मिचाहा प्रजातिलाई सबैभन्दा बढी लुम्बिनी प्रदेश अनुकूल बन्ने उल्लेख छ ।

जलवायु परिवर्तनको असरसँगै मिचाहा प्रजाति पनि बढ्ने सम्भावना छ ।

आईयूसीएनका अनुसार मिचाहा प्रजातिको फैलावट मानव सिर्जित विश्वव्यापी वातावरणीय परिवर्तनको एक महत्वपूर्ण असर हो ।

‘मुख्य समस्या तथ्यांक अभाव’

प्रा.डा. भरतबाबु श्रेष्ठका अनुसार, विश्वमा फैलिएका धेरैजसो बाह्य मिचाहा वनस्पतिहरूको उद्गमस्थल दक्षिण अमेरिका हो । त्यहाँबाट विभिन्न माध्यम हुँदै अन्य मुलुकमा पुगेर त्यहाँका प्राकृतिक वातावरणमा अनुकूलित भई मिचाहा प्रजाति फैलिएको पाइन्छ ।

नेपालमा प्रायः सबै बाह्य मिचाहा प्रजाति पूर्वी दक्षिण नाका (भारतीय सीमा क्षेत्र) बाट भित्रिएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का विज्ञ एवम् वनस्पतिविद् प्रा.डा. प्रमोद कुमार (पीके) झा बताउँछन् ।

मिचाहा प्रजातिले जैविक विविधता, पारिस्थितिकीय प्रणाली र खाद्य चक्रमा असर गरिरहेको छ । नेपाल राष्ट्रिय रेडप्लस रणनीति (२०७५–२०७९) मा बाह्य मिचाहा प्रजाति वन क्षयीकरणको एक महत्वपूर्ण कारक भएको उल्लेख छ ।

तर मिचाहा प्रजातिले कति जमिन अतिक्रमणमा पार्‍यो वा आर्थिक रूपमा कति क्षति पुग्यो भने यकिन तथ्यांक नभएको अध्येताहरू बताउँछन् । ‘हानि–नोक्सानीको हिसाब निकाल्न सजिलो छैन’ डा. झा भन्छन्, ‘हाम्रो मुख्य समस्या नै तथ्यांक अभाव हो ।’

चितवन राष्ट्रिय निकुञ्जमा लहरे वनमाराले ढाकेको ठाउँमा एकसिंगे गैंडा । फोटो : राष्ट्रिय प्रकृति संरक्षण कोष

डा. उत्तमबाबु श्रेष्ठ पनि मिचाहा प्रजातिले ढाकेको जमिनको क्षेत्रफल र तिनको व्यवस्थापनमा लाग्ने खर्चबारे छुट्टै अनुसन्धान आवश्यक रहेको बताउँछन् । ‘चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको चरन क्षेत्र घटेको भनिएको थियो । तर, कति घट्यो भनेर निकाल्न गाह्रो हुन्छ । किनभने यो रैथाने हो र यो मिचाहा हो भनेर ‘रिमोटसेन्सिङ’ बाट देखिंदैन । फिल्डमा गएर नाप्न सहज छैन’ श्रेष्ठ भन्छन्, ‘त्यसैले अहिलेसम्मको अवस्थामा लार्ज स्केलमा सर्भे गर्न असम्भव जस्तो देखिएको छ ।’

आईयूसीएनका अनुसार मिचाहा प्रजातिले गर्दा चीनमा सन् २००० मा १४.५ अर्ब डलर र अमेरिकामा १२० अर्ब डलर तथा अष्ट्रेलियामा सन् २०१२ मा १३.४ अर्ब डलर क्षति पुर्‍याएको अनुमान छ ।

नेपालमा भने आर्थिक क्षतिमा केन्द्रित भएर अनुसन्धान नभएको अर्का अध्येता एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा.नरेश सुवेदी बताउँछन् । ‘अनुसन्धान खर्च होइन, लगानी हो भनेर सरकारले यसतर्फ ध्यान दिनुपर्छ’, सुवेदी भन्छन् ।

कतिपय मिचाहा प्रजाति फैलाउन सरकारी निकायकै गतिविधि पनि सहयोगी छन् । उदाहरणका लागि चितवनको भरतपुर महानगरपालिकामा २०७६ सालमा जलकुम्भी रोप्न भनेर हरेक घरधुरीलाई १५ हजार रुपैयाँको दरले अनुदान बाँडिएको थियो ।

प्रदेश सरकारको योजना अनुसार हरेक घरबाट निस्किने फोहोर पानी जम्मा गर्न ट्यांकी बनाउने र त्यसमा जलकुम्भी राखेर पानी सफा बनाउने भन्ने योजना थियो । रोचक के छ भने त्यहीबेला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका ताल तथा पोखरीहरूबाट जलकुम्भी निकाल्ने अभियान चलिरहेको थियो ।

बल्ल बन्दै ‘एक्सन प्लान’

मिचाहा प्रजाति ७० जिल्लामा पुगेपछि बल्ल सरकार त्यसको व्यवस्थापन रणनीति र कार्ययोजना बनाउने प्रक्रियामा छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलकी उपसचिव सुनिता उलकका अनुसार, मस्यौदा तयार गरेर वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ ।

प्रस्तावित मस्यौदामा मिचाहा प्रजातिलाई देशभित्र प्रवेश, स्थापित र विस्तार हुने दरलाई सन् २०३० सम्ममा कम्तीमा ५० प्रतिशतले कम गर्ने उल्लेख छ ।

‘हाम्रा नीतिहरूमा मिचाहा प्रजाति समस्याका रूपमा औंल्याइएकाले त्यसलाई रोक्न रणनीतिक हिसाबले जानुपर्छ भनेर तयारी भइरहेको छ’, उलक भन्छिन् । राष्ट्रिय सिमसार नीति २०६९, कृषि जैविक विविधता नीति २०७१, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ र वन क्षेत्र रणनीति (२०१६–२०२५) मा बाह्य मिचाहा प्रजातिलाई समस्याका रूपमा औंल्याएर नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले मिचाहा प्रजाति नियन्त्रण सम्बन्धी काम, कर्तव्य र अधिकार स्थानीय तहलाई दिएको छ । तर स्थानीय तहमा त्यसको पहिचान र व्यवस्थापन गर्ने काम प्रभावकारी देखिएको छैन ।

अध्येता डा.नरेश सुवेदी स्थानीय तहबाट मिचाहा प्रजाति व्यवस्थापनको नाममा सोलोडोलो रूपमा झाडी फाँड्ने काम मात्रै भइरहेको बताउँछन् । उनी भन्छन्, ‘सबै मिचाहा प्रजातिलाई एउटै बास्केटमा राख्नुहुँदैन । त्यसको प्राथमिकता छुट्याएर व्यवस्थापन पनि फरक–फरक तरिकाले नै गर्नुपर्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM