२०८३ असार १३ गते, शनिबार १६:२०

दुई वर्षदेखि टिनको टहरामा बाजुराका भूकम्प पीडित




बाजुरा । २०७९ माघ १० गतेको भूकम्पबाट प्रभावित भएका बाजुराका गौमुल गाउँपालिका वडा नम्बर २, आगरका १२ परिवार दुई वर्षदेखि टिनको टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। भूकम्पबाट विस्थापित यी परिवारहरूले घर निर्माणका लागि सरकारले दिने भनेको रकम हालसम्म प्राप्त नगरेपछि उनीहरूलाई टिनको टहरामा बस्न विवश बनाइएको हो।

भूकम्प पीडित रामबहादुर रोकायाले गुनासो गर्दै भन्नुभयाे, “घर निर्माण गरिदिने सरकारले आश्वासन दिएको दुई वर्ष वितिसक्दा पनि हामीले एक रुपैयाँ पनि पाएका छैनौं। दुई हिंउद हामीले मुश्किलले बितायौं।”

यता, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले भन्नुभयाे, “मैले र सरोकारवाला निकायका टोलीले भूकम्पबाट विस्थापित गाउँ आगरमा पुगेर अवस्था बुझिसकेको छ। अब छिट्टै घर पुनर्निर्माणका लागि रकम भुक्तानी गरिनेछ।”

बुधवार गौमुल गाउँपालिकाको समन्वयमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा लगायतको टोलीले विस्थापित परिवारको अवस्थाबारे जानकारी लिनुभएकाे थियाे।

गाउँपालिकाले बस्ती विस्तारका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइसकेको छ र अब छिट्टै बस्ती विस्तार हुने गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM