२०८३ जेष्ठ १७ गते, आईतवार ०३:३८

भृकुटीमण्डपमा सुरू भयो तीन दिने पश्मिना महोत्सव (तस्वीरहरू)

१० माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनी सुरू भएको छ ।

बिहीबारदेखि नेपाल पश्मिना उद्योग संघको अन्तर्राष्ट्रिय  स्तरको पहिलो तीन दिने महोत्सव सुरू भएको छ ।

महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे ।

उद्घाटनपछि बोल्‍दै उनले पश्मिना उद्योगले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय स्तरमा चिनाए पनि नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय भएको बताए ।

‘नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्व बजारमा चिनाइएको पनि छ, विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो। युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पश्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्नुपर्ने खाँचो छ, यसमा सरकार सुधारका काममा जुटेको छ,’ मन्त्री भण्डारीले भने।

नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुनमा सुधारका काम धमाधम अगाडि बढाइसकेको बताए ।

छिट्टै वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि आगामी संसद्‍मा पेस गरिने जानकारी दिँदै उनले साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै एउटा छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताए।

‘नेपालको व्यापार र निर्यात कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर छ । आर्थिक वृद्धि हासिल गर्न नेपाली वस्तुको बजार विस्तारको रणनीति अपनाउनु जरुरी छ । नेपाली वस्तुको प्रयोग गर्ने कुरालाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनु पनि जरुरी छ,’ उनले भने ।

उनले नेपालको पूँजी बजार र अर्थतन्त्रमा आएको निराशा चिर्न तथा व्यावसायिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उल्लेख गर्दै नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको बताए ।

हेर्नुहोस् तस्वीरहरू : 

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM