२०८३ असार २८ गते, आईतवार १३:०८

सुस्ता गोलिकाण्ड : हत्या आरोपमा तीन जना पक्राउ




नवलपरासी,पश्चिम् । कट्टा पेस्तोल जस्तो घरेलु हतियार बनाएर आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजेतिर सुस्ता गाउँपालिका वडा नम्बर २ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोलिहानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सुस्ता २  महलबारी बस्ने वर्ष २२ का मुख्य अभियुक्त भनिएका विशाल मुसहर, सोही स्थानका वर्ष २१ का मोहन थारु र वर्ष १८ का साहिल थारुलाई नियन्त्रणमा लिएको छ। उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।छर्रा लागि घाइते भएका महतोलाई जिल्ला अस्पताल परासीमा सोही दिन साझ ७:३० चिकित्सकले मृत घोषणा गरेका थिए ।

फलामको वेल्डिङ  काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले नाल सहितको घरेलु कट्टा पेस्तोल एक थान, २८ थान छर्रा,१२ वटा बट्टा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ। उनीहरूले पहिले नै घरेलु पेस्तोल तयारी अवस्थामा लगेको देखिएको तर आकस्मिक विवादमा वा सुनियोजित रुपमा घटना घटेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि मुद्दा दर्ता गरी दस दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले  पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM