काठमाडौं । बेलायती राजकुमारी केट मिडलटन र अभिनेत्री मनिषा कोइरालाबीच एउटा कुरामा समानता छ । त्यो भनेको- दुबैजनाले क्यान्सरलाई जितेका छन् । दुबैजना यतिबेला क्यान्सरमुक्त छन् ।
अभिनेत्री कोइरालाले हालै आफूलाई प्रिन्सेस अफ वेल्सबाट पत्र प्राप्त भएको खुलासा गरेकी छन् ।
मनिषा चौथो चरणको पाठेघरको क्यान्सरबाट निको भइन् र अहिले स्वस्थ छिन् । मनिषा स्वस्थ रहेको र आफ्नो काम पुनः सुरु गरेको थाहा पाएपछि मिडलटनले खुसी व्यक्त गर्दै चिठ्ठी पठाएकी हुन् ।
मिडलटनको पत्रमा प्रतिक्रिया दिँदै, ‘हीरामण्डी’ अभिनेत्रीले इन्स्टाग्राम पोस्टमा भनेकी छन्, ‘मेरो आफ्नै अनुभवको कारणले, प्रिन्सेस अफ वेल्सकहाँ पुगेर मैले मेरो तर्फबाट शुभकामना पठाउन चाहन्थेँ । उहाँबाट यस्तो न्यानो प्रतिक्रिया प्राप्त गर्दा म अत्यन्तै उत्साहित छु र उहाँको स्वास्थ्य लाभको कामना गर्दछु ।’
‘म मेरो आवाजलाई क्यान्सर रोगीलाई समर्थन गर्न मात्र होइन बरु समतामूलक स्वास्थ्य सेवा पहुँचको आवश्यकता र पाठेघरको क्यान्सरका लक्षण र ती लक्षण जान्नेबारेमा चेतना जगाउन पनि प्रयोग गर्न चाहन्छु । म स्वयमले क्यान्सरको सामना गरिसकेकोले, मलाई थाहा छ यसको यात्रा निकै अलग र चुनौतीपूर्ण हुन सक्छ । म विश्वास गर्छु कि म मेरो यो वास्तविकताको माध्यमबाट अरूको लागि परिवर्तन गर्न हामी सबैले भूमिका खेल्नु आवश्यक छ’ उनले भनिन् ।
क्यान्सरको कुरा गर्दा मनिषा निकै जागरुक छिन् र उनी यसबारे जनचेतना जगाउने कार्यमा पनि उत्तिकै सक्रिय छिन् । साथै, परोपकारी कार्यमा पनि संलग्न छिन् । हालै, अभिनेत्रीले क्यान्सर च्यारिटी ओभरकमको लन्डनका कर्मचारी र क्यान्सरका रोगीलाई समेत भेटिन् ।
केट मिडलटन अहिले क्यान्सरमुक्त भएर शाही राजकाजको नियमित काममा फर्किएको जनाइएको छ । यद्यपि, वेल्सकी राजकुमारीलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने कुरा खुलाइएको छैन ।
सेयर गरिएको सन्देशमा उनले क्यान्सर यात्रा सबैका लागि जटिल, डरलाग्दो र अप्रत्याशित रहेको लेखेकी छन् । केटलाई जनवरीमा क्यान्सर भएको पत्ता लागेको थियो जब उनको पेटको शल्यक्रिया गरिएको थियो ।